घोडाबाँधे माथिल्लो खण्डमा काम, तल्लो खण्ड गुमनाम

नवीन शिशिर विक बागलुङ,  । पूर्व–पश्चिम जोड्न राष्ट्रिय गौरवको सडक आयोजना हो मध्यपहाडी लोकमार्ग । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयकोअनुसार बागलुङ बजारको उपल्लाचौरदेखि रुकुमको सीमा पातीहाल्लेसम्म १२९ किलोमिटर सडकले चर्चेको छ ।

जिल्ला सदरमुकामदेखि २५ किलोमिटर अघि अर्थात घोडाबाँधेदेखि बुर्तिवाङ पातीहाल्नेसम्मको अधिकांश सडक कालोपत्रे भएको धेरै बर्ष भैसक्यो । सो क्षेत्रमा पुनः कालोपत्रे गर्ने अवस्थामा पुगेको छ । तर सदरमुकामदेखि घोडाबाँधेसम्मको खण्डमा काम हुन सकेको छैन ।

सो सडकखण्डले जिल्लाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई प्रत्यक्ष जोडेको छ । जसकाकारण दुर्गम मानिने पश्चिमका तीन स्थानीय तह निसीखोला, ढोरपाटन र बडिगाड गाउँपालिका सुगम बन्दैगएका छ । लोकमार्ग आसपासमा बस्ती विस्तार तथा बजारीकरण बढ्दै गएको छ ।

लोकमार्गले चर्चेको कुल १२९ किलोमिटर सडकमध्ये एकसय चार किलोमिटर सडक कालोपत्रे गरिएको छ । लोकमार्गको प्रवेशद्वारको रुपमा रहेको बागलुङ–घोडाबाँधे खण्डको काममा ठेकेदार कम्पनीले हेलचक्राइँ गर्दा कालोपत्रे हुन सकेको छैन् ।

माथिल्लो खण्डको १२ किलोमिटर सडकमध्ये घोडाबाँधेदेखि बागलुङ बजारतर्फ करिव चार किलोमिटर सडक कालोपत्रे गरेपनि अन्य आठ किलोमिटर सडकको स्तरवृद्धिको काम जारी रहेको ठकेदार रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । चैत अन्तिमसम्म काम सक्नेगरी काम थालेको उहाँले बताउनुभयो । काठेखोला गाउँपालिका– ५ का वडाध्यक्ष शिव कँडेलकाअनुसार माथिल्लो खण्डमा पनि सन्तोषजनक काम भएको छैन । थोरै मजदुरले छिटफुट काम गरेपनि कामको गति ढिलो र सन्तोषजनक नभएको उहाँले बताउनुभयो ।

बागलुङ–उपल्लाचौरदेखि–अक्षते खण्डको १३ किलोमिटर सडक कालोपत्रेको काम अलपत्र छ । उक्त खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले कालोपत्रेको जिम्मेवारी लिएको थियो । माथिल्लो बिहुँ–घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी एससिएफ इसिसि जेभीले दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

माथिल्लो खण्डमा छिफुट काम भएपनि तल्लोखण्ड अलपत्र अवस्थामा छ । तल्लो खण्डको ठेकेदार दिपेन्द्रबहादुर शाही सम्पर्कविहिन हुँदा जिल्ला प्रशासन कार्यालय बागलुङले मध्यपहाडी लोकमार्गको काम प्रगतिको अवस्था बुझ्न गत हप्ता आयोजना गरेको बैठकसमेत प्रभावित भएको थियो । शाही विगत डेढ महिनादेखि सम्पर्कमा नरहेको आयोजनाका प्रबन्धक शिव लामिछानेले बताउनुभयो । मुख्य ठेकेदार नै सम्पर्कविहिन भएपछि कामदार खटाएर निर्माणको काम गर्न कठिन भएको लामिछानेको भनाई छ ।

बूर्तिवाङदेखि पातीहाल्ले खण्डको ४१ किलोमिटरमध्ये तीन ठाउँमा गरी पाँच किलोमिटर सडक पनि कालोपत्रे गर्न बाँकी छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर मिलन श्रेष्ठकाअनुसार निसीखोला गाउँपालिकाको जुग्गाखोलातर्फ दुई किलोमिटर, पातीहाल्ने तीन किलोमिटर खण्ड कालोपत्रेको अन्तिम तयारीमा छन् ।

लोकमार्गको मुख्य समस्या बागलुङ–घोडाबाँधे खण्ड देखिएको छ । ठेकेदार कम्पनीले हेलचेक्राइँ गर्दा उपभोक्ताले हिउँमा धुँलो र बर्खामा हिलोमा यात्रा गर्न बाध्य छन् । सडक कालोपत्रेको काम राख्दै स्थानीयले पटक पटक आन्दोलन गर्दासमेत सुनुवाई भएको छैन । दुवै खण्डको अन्तिम म्याद आउँदै चैतसम्म छ । चैतसम्म पनि काम नभए ठेक्का रद्ददेखि अन्य कानुनी कारवाही हुने इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

मध्यपहाडी क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्न सरकारले राष्ट्रि«य गौरवको आयोजनाका रुपमा पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण आरम्भ गरेको हो । राजमार्ग कुल १८७९ किलोमिटर लामो छ । यो सडक पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म फैलिएको छ ।

You can share this post!

अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा मन्त्रीको ध्यानाकर्षण

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित देखा परे

Related posts