काठमाडौं बालाजुमा मुख्य कार्यालय खोलेर पोखरामा शाखा कार्यालयबाट ‘ग्लोबल ओरियन्स प्रालि’ले ठगीधन्दा चलाइरहेको पाइएको छ । प्रालिले प्रतिव्यक्ति १३ हजार देखि एक लाख १५ हजार रुपैयाँसम्म असुलेको छ ।
पोखरा भरर्खरै क्याम्पस पढ्दै गरेका विद्यार्थी जसलाई सख्त जरुरी थियो, जागिरको । विभिन्न जिल्लाबाट सहरमा पढ्न आएका हरेक विद्यार्थीको समस्या यही हो । तर, अहिले तिनै विद्यार्थीलाई लक्ष्य गरी पोखरा गैरकानुनी रुपमा फेरि ‘नेटवर्किङ विजनेस’ सल्बलाउन थालेको छ ।
सुरुमा राम्रो जागिर पाउने र थोरै लगानी गरे धेरै मुनाफा दिने प्रलोभनमा पारी पोखरामा कयौं युवा ठगिएका छन् । काठमाडौं बालाजुमा मुख्य कार्यालय खोलेर पोखरामा शाखा कार्यालयबाट ‘ग्लोबल ओरियन्स प्रालि’ले ठगीधन्धा चलाइरहेको पाइएको छ ।
तिनै ठगिने मध्येका एक हुन्, धादिङका सुजय तामाङ । भर्खरै १८ वर्ष पुगेका उनी कालिका बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय पढिरहेका छन् । साथीमार्फत उक्त कार्यालयमा जोडिएका उनी फसिन्छन् भन्ने लागेकै थिएन । ग्लोबल प्रतिनिधिले थोरै रकम खर्च गरे जागिर पक्का हुने र ठूलो मुनाफा आउने लोभ देखाएपछि उनले १ लाख १५ हजार रुपैयाँ तिरे ।
तर, कार्यालयको ध्येय तामाङजस्ता युवालाई रोजगार होइन, लुट्नु थियो । पत्तो नै नहुने तरिकाले ‘नेटवर्किङ बिजनेस’ चलाउँदै आइरहेको थियो । कम्पनीको काम एउटा, व्यापार अर्को छ । सुजय भन्छन् ‘मैले त पैसा डुब्यो भनेर माया नै मारेको थिएँ ।’
सुजनले लगानी गरेपश्चात कम्पनीले भने अनुसारको न त उनले बोनस पाए न त तलब नै । काम गर्न थालेको करिब ८ महिना वितिसक्दा समेत उनले लगानी गरेवापत पाउने पाँच हजार बोनससमेत अझै पाउन सकेका छैनन् । उनले अन्य दुई जनालाई समेत कम्पनीमा जोडेका थिए । नयाँबजारमा रहेको कार्यालय अहिले भने छैन । कार्यालय त्यहाँबाट उठिसकेको छ ।
यस्तै स्याङजाकी रुमी मगर समेत ग्लोबल कम्पनीबाट ठगिएकी छन् । आर्थिक अवस्था कम्जोर रहेको उनले ऋण गरेर कम्पनीमा १३ हजार रुपैयाँ लगानी गरिन् । फाइदा हुने र जागिर पाउने आशले जोडिएकी उनले आफ्नो माध्यमबाट सुमी तामाङलाई पनि कम्पनीमा ल्याइन् । सुमीले ३५ हजार रुपैयाँ लगानी गरिन् । उनले पनि निशा नेपालीलाई ल्याइन् । निशाले १३ हजार रुपैँया लगानी गरिन् यसरी नै निशाले प्रकृति परियार र प्रकृतीले एलिशालाई कम्पनीमा जोडिन् ।
तर, काम गरेको झन्डै १ वर्ष पुग्दासमेत तलब नपाएपनि उनीहरु ठगिएको भन्ने थाहा पाए । उनीहरुले कम्पनीमा सम्पर्क गर्न खोज्दा कम्पनी त्यहाँबाट भागिसकेको थियो । उनीहरु त एउटा उदाहरणका पात्र मात्रै हुन् । उनीजस्तै ठगिने सयौं छन् । तर, पछि केही गर्छन कि भन्ने डरले खुल्न भने चाहँदैनन् ।
कम्पनीका पोखरा नयाँबजारका मुख्य व्यक्ति ईश्वर नोपली र राजु नेपाली हुन् । उनीहरु नयाँबजार शाखाका हुन् अहिले उनीहरु सम्पकििवहीन भएका छन् । पीडितमध्येका ५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका छन् । उनीहरुले कम्पनीका सञ्चालक बसन्त पण्डितसहित ईश्वर नेपाली र विजय गुरुङविरुद्ध कास्की प्रहरीमा निवेदन दिएका हुन् ।
प्रहरी स्रोतका अनुसार भने यो ‘नेटवर्किङ विजनेस’ नै देखिएको छ । जाहेरी दर्ता भएमा ठूलो मात्रामा संलग्न रहेका व्यक्ति पक्राउ गर्न सकिने स्रोत बताउँछ । ‘यो धेरै पहिले अत्याधिक थियो । बीचमा केही समय सेलायो । तर, अहिले फेरि आउन थालेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘गैरकानुनी काम गर्न कसैलाई छूट छैन ।’
उता पोखरामा कम्पनीकै प्रतिनिधि रहेका विजय गुरुङले भने नयाँबजार कम्पनीको समन्वय र स्वीकृतमा नरहेको बताएका छन् । उनले आफूहरुमात्रै पोखरामा रहेको र नयाँबजार शाखाले कसरी काम गरिरहेको थाहा नभएको बताए । ‘हामी नै गण्डकीको एकमात्रा शाखा हौं । यहाँ ९नयाँबजार०को कम्पनीले कसरी काम गरिरहेको छ, थाहा भएन,’ उनले भने । यस्मा आफूहरुले कसैलाई नठगेको दाबी गरेका छन् ।