म्याग्दी सुनचाँदी ब्यबसायी संघको अध्यक्षमा अमित बानीयाँ चयन हुनुभएको छ । शनिबार बेनी स्थित संघको सभाहलमा आयोजित पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट बानीयाँ अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष बानीयाँ, बेनीको न्युरोडमा रहेको बानीयाँ गहना पसलका संचालक हुनुहुन्छ ।
कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, महासचिवमा कमल बिश्वकर्मा, सचिवमा राम बहादुर बिश्वकर्मा, कोषाध्यक्षमा दिनेश बराल र सह–कोषाध्यक्षमा नारायण प्रसाद सेन्चुरी चयन हुनु भएको उपाध्यक्ष भिमसेन बराईलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदस्यहरुमा प्रेम बिश्वकर्मा, परमानन्द घमाल, लाल बहादुर बिश्वकर्मा, शंकर बिश्वकर्मा, जित बहादुर बिश्वकर्मा, सन्दिप अधिकारी र तारा बिश्वकर्मा रहनु भएको छ । त्यस्तै आमन्त्रीत सदस्यहरुमा गोबिन घमाल, भानु रामदाम र श्रबण बिश्वकर्मालाई चयन गरिएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी महासंघ गण्डकी प्रदेशका उप–सभापति जिबन कुमार बिश्वकर्माले सुनचाँदी ब्यबसायीहरुका लागि संघले महत्वपुर्ण भुमिका निभाउदै आएको बताउनुभयो । कोरोना महामारीका कारण धेरै जसोको रोजगार गुमेकाले सुनचाँदीको कारोबारमा पनि गिरावट आएको भन्दै बिश्वकर्माले ब्यबसायीहरुलाइ हतोत्साही नहुन अनुरोध गर्नुभयो ।
अबस्था सामान्य हुँदै गएकाले अब सुनचाँदीको कारोबार पनि पुरानै लयमा फर्किने आशा राख्दै उहाँले कोही ब्यबसायीलाई कुनै समस्या परेमा संघको तर्फबाट सकेको साथ रहने बताउनुभयो । त्यसैगरि नेपाल सुनचाँदी ब्यबसायी महासंघका पुर्व केन्द्रिय सदस्य रामकृष्ण बराईलीले ब्यबसायीहरुले ब्यबसायीक हकहितको सुरक्षा गरि ग्राहकहरुको अधिकार र सन्तुष्टिलाई मध्यनजर गर्दै कारोबार गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रम निर्बतमान अध्यक्ष चन्द्र बहादुर बिश्वकर्माको अध्यक्षता र महासचिव कमल बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।