२७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक करिब सवा ५ अर्ब लगानी गर्नैपर्ने

चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तोकिदिएको निर्देशन पालना गर्नकै लागि पनि २७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक करिब सवा ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने भएको छ ।
२०७८ असारसम्म हरेक वाणिज्य बैंकले आफ्नो कुल कर्जाको न्यूनतम ११ प्रतिशत लगानी कृषिमा लगाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । गत असोजमा बैंकहरूको कुल कर्जाका आधारमा यो ३ खर्ब ३३ करोड रुपैयाँ हो ।
गत असोजसम्म बैंकहरूको कुल कर्जाको साढे ९ प्रतिशत (२ खर्ब ८८ अर्ब रुपैयाँ) लगानी कृषिमा छ । बाँकी ९ महिनामा वाणिज्य बैंकले थप करिब साढे ४५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ । जसअनुसार वाणिज्य बैंकहरूले मासिक करिब सवा ५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्छ । गत असोजसम्म वाणिज्य बैंकहरूको कुल लगानी ३० खर्ब ३५ अर्ब रुपैयाँ छ । असोजयता पनि बैंकहरूको कुल लगानी बढेको छ । लगानी बढेअनुसार बैंकको कृषि कर्जामा प्रवाह गर्नुपर्ने रकम पनि बढ्नेछ ।
राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकले २०८० असारसम्म कुल कर्जाको न्यूनतम १५ प्रतिशत अनिवार्य रूपमा कृषिमा लगानी गर्नुपर्ने प्रावधान छ । जसमध्ये २०७८ असारसम्म न्यूनतम ११ प्रतिशत र २०७९ असारसम्म १३ प्रतिशत लगानी कृषिमा गर्नुपर्नेछ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले कृषि कर्जा प्रवाहका लागि समय सीमा तोकिदिएको हो । यसअघि मौद्रिक नीतिमार्फत २०८० सम्म कृषिमा प्रवाह गनुपर्ने न्यूनतम सीमा मात्र तोकिएको थियो । निर्देशनअनुसार तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे राष्ट्र बैंकले कारबाही गर्ने प्रवधान छ ।
२०७८ असारसम्म वाणिज्य बैंकहरूले कुल कर्जा न्यूनतम ६ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा गर्न राष्ट्र बैंकको निर्देशन छ । यसअनुसार २०७९ असारसम्म ७ प्रतिशत, २०८० असारसम्म ९ प्रतिशत र २०८१ असारसम्म १० प्रतिशत रकम ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । गत असोजसम्म वाणिज्य बैंकहरूको कुल कर्जाको ५.६ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा छ ।
यसअघि वाणिज्य बैंकहरूले कुल लगानीको न्यूनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्र (कृषि, ऊर्जा र पर्यटन) मा प्रवाह गर्नुपर्ने व्यवस्था थियो । जसमध्ये कृषिमा १० र ऊर्जा तथा पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था परिमार्जन गरी कृषि र ऊर्जामा गरी न्यूनतम २५ प्रतिशत लगानी कृषिमा गर्नुपर्नेछ । चालु आर्थिक वर्षमा कोभिड–१९ बाट अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेस्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जालाई प्राथमिकता दिइएको राष्ट्र बैंकको दाबी छ । गत असोजसम्म ४१ हजार ६ सय १८ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । जसमध्ये ७२ अर्ब ४७ करोड कर्जा बक्यौता छ । सहुलियत कर्जाअन्तर्गत २६ हजार ३ सय ६९ जनाले ६१ अर्ब २५ करोड रुपैयाँ कृषि तथा पशुपन्छी व्यवसाय कर्जा लिएका छन् । अन्य सहुलियतपूर्ण कर्जाअन्तर्गत १४ हजार २ सय ४९ जनालाई ११ अर्ब २२ करोड रुपैयाँ प्रवाह भएको तथ्यांक छ ।
सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्न र यस्तो कर्जामा लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्न भन्दै कृषि तथा पशुपन्छी कर्जाबाहेक कर्जाका लागि राष्ट्र बैंकले बैंकहरूलाई सीमा तोकिदिएको छ । यसअनुसार २०७८ असारसम्ममा वाणिज्य बैंकले ५ सय वा न्यूनतम प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैकले ३ सय वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ, सोहीबमोजिमको संख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्नेछ । राष्ट्रियस्तरबाहेकका विकास बैंक न्यूनतम २ सय र वित्त कम्पनीले न्यूनतम १ सय वटा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने प्रावधान छ ।
कान्तिपूरबाट

You can share this post!

बावियाचौरको काफलचौरमा जिप दुर्घटना, एकको मृत्यु, पाँच घाईते

६ बर्ष देखि अक्सिजनको पर्खाईमा धन बहादुर

Related posts