म्याग्दी,असोज १० गते । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापतिमा रवि कार्की निर्बाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा सभापति पदमा प्रतिस्पर्धि विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटिले ६८ मत ल्याउनु भएको छ ।
उपसभापतिमा हरि प्रसाद पौडेलले ७३ र गंगाबहादुर खत्रिले ७२ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाँहरुको निकटतम प्रतिद्वन्दी मनोज कुमार कार्कीले ७० र मानकाजी घिमिरेले ५८ मत प्राप्त गर्नु भएको थियो ।
सचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठले ८१ र झलक जिसिले ६७ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँहरुको निकटतम प्रतिद्वन्दी रण बहादुर शाहीले ६० र संगीता श्रेष्ठले ६६ मत प्राप्त गर्नु भएको थियो । सहसचिवमा स्यानिमाया कार्किले ८१ र शान्ति शर्माले ७५ मत प्राप्त गरेर बिजयी हुनुभएको छ भने उहाँहरुको निकटतम प्रतिद्वन्दी बिन्दु खत्रीले ६५ र संगम कुमार बिकले ४९ मत प्राप्त गर्नुभएको निबार्चन अधिकृत निरञ्जनराज भण्डारीले बताउनुभयो।
कार्की र बोगटीले दुई समुह बनाएर निर्वाचनमा गएका थिए । कार्की जिल्ला सभापति खम्बिर गर्बुजा पक्षधर हुनुहुन्छ भने बोगटी पूर्व सभापति रेशम बानियाँ पक्षधर हुनुहुन्छ । बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, र सहसचिवमा स्यानीमाया कार्की र शान्ति शर्मा विजयी हुनुभएको छ । त्यस्तै कार्की प्यानलबाट उपसभापतिमा गंगा बहादुर खत्री, सचिवमा झलक जिसी विजयी हुनुभएको छ । शनिबार सुरु भएको अधिवेशनमा सहमतिमा नयाँ नेतृत्व चयन नभएपछि आइतबार विहान मतदान गरिएको थियो ।