मालिकामा मिलनको कार्यक्रमबारे जानकारी तथा अन्तरक्रिया

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा बुधवार संस्थाबाट सञ्चालनमा रहेका कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै अन्तरक्रिया सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रम तथा सामुदायिक झोलुङ्गे पुल कार्यक्रमको विषयमा जानकारी प्रस्तुत गरिएको हो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि एवं पालिकाका कर्मचारीसँग परिचयात्मक कार्यक्रमसहित जिल्लामा संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको मिलन म्याग्दीले जनाएको छ ।

कार्यक्रममा मिलन संस्थाको कार्यकारी निर्देशक दिलमाया बिटालु र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले सञ्चालित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी नेपाल सरकारको झोलुङ्गे पुल तथा स्वीस सरकारको प्राविधिक सहयोगमा सञ्चालित प्रादेशिक प्राविधिक सहयोग प्रदायक (पिटिएपि) गण्डकी प्रदेश पोखराका प्राविधिक अधिकृत नितिका सुनार, मिलनबाट सञ्चालित सामुदायिक झोलुङ्गे पुल कार्यक्रमको प्राविधिकद्वय यामबहादुर विश्वकर्मा र कविता केसीले पालिकामा सञ्चालन हुने सामुदायिक झोलुङ्गे पुलको बारेमा जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापनसहित सुआहारा कार्यक्रमको तर्फदेखि मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाले बधाई तथा शुभकामना–पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले पालिकामार्फत गैरसरकारी संघ संस्थासँग आवश्यक सहकार्य गरिने बताउँदै पालिकाभित्र निर्माणाधीन पुललाई निर्माणको गति दिइने तथा आगामी आवदेखि थप नयाँ पुलहरुको समेत निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, लेखापाल सागर पौडेल, इन्जिनियर नमनारायण ढुङ्गानासहित मिलन म्याग्दीका पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि मिलन म्याग्दीको आयोजनामा मंगला र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकामा पनि संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जनप्रतिनिधि एवं कर्मचारीहरुको उपस्थितिमा सेयरिङ कार्यक्रम सम्पन्न भैसकेको छ । सन् २०१२ देखि म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको अहिले दोस्रो चरण सञ्चालनमा रहेको छ ।

You can share this post!

कोलेनिका म्याग्दीको भवन उद्घाटनः बेरुजु शून्य बनाउने संकल्प गर्न अर्यालको आग्रह

भकिम्लीका क्लवहरुको एकिकरणः एक बर्षमा एक मेला हुने

Related posts