कोलेनिका म्याग्दीको भवन उद्घाटनः बेरुजु शून्य बनाउने संकल्प गर्न अर्यालको आग्रह

म्याग्दी । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीको भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको महालेखानियन्त्रक सुमनराज अर्यालले बुधबार उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै महालेखानियन्त्रक अर्यालले जिल्लामा बेरुजु शून्य बनाउने संकल्प गर्न आग्रह गर्नुभएको छ ।
प्रत्यक बर्ष बेरुजुको मात्रा बढ्दै गएको र यसले राज्यको अर्थ व्यवस्थामा विकराल रुप लिन सक्ने भन्दै अर्यालले यसप्रति संवेदनशिल हुन जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा कोष संग सम्बन्धित कर्मचारीहरुलाई अनुरोध गर्नुभएको हो ।

उहाँले नियमित र कानून सम्वत कामले बेरुजु सृजना नहुने बताउनु भएको छ । अर्यालले सूचना र प्रविधिको अधिकटम प्रयोग गरि वित्त व्यवस्थापनका महालेखानियन्त्रकको कार्यालयले सरकारलाई महत्वपूर्ण सघाउ पु¥याएको बताउनुभयो ।

सहमहालेखा नियन्त्रक थान प्रसाद पंगेनीले नयाँ सोचका साथ गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।

समयमै भवन निर्माण सम्पन्न गरेकोमा धन्यवाद प्रकट गर्दै उहाँले महालेखानियन्त्रकको कार्यालयले जिल्लाका कार्यालयहरुको भौतिक पूर्वाधार विकास र स्तरउन्नतिमा चासोका साथ सहयोग गरिरहेको बताउनुभयो ।

पंगेनीले भवनको सुरक्षा, मर्मत सम्भार सहित सरकारी सम्पतिको संरक्षण गर्दै राज्यको लगानी प्रति गम्भिर बन्न सम्पुर्ण कर्मचारीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

कार्यक्रममा पुर्व कोष तथा लेखा नियन्त्रक युक्त प्रसाद शर्माले ११ आना १ पैसा ३ दामको क्षेत्रफलमा १० कोठे तीन तले भवन आर्थिक बर्ष २०७७÷०७८ मा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

भवन निर्माणका लागि त्रिशक्तिदावा जेभिले २ करोड ५९ हजार ७ सय ३१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । शर्माले आफ्नो कार्यकालमा भवन बनेको भन्दै यसमा साथ सहयोग गर्ने सवैलाई आभार प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा कोलेनिका म्याग्दीका कार्यालय प्रमुख कोष नियन्त्रक रामभक्त रानाले कार्यालयको बर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यालयमा दरवन्दी अनुसारका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको उहाँको भनाई थियो ।

जिल्लाको वित्तिय अवस्थाको बारेमा जानकारी गराउँदै कोष नियन्त्रक रानाले हाल सम्म पुँजीगत खर्च तर्फ १९ प्रतिशत मात्रै निकासा भएको बताउनुभयो । उहाँका अनुसार यो एकदमै कम खर्च हो । त्यस्तै चालुतर्फ भने ८२ प्रतिशत निकासा भएको छ ।

प्रदेशको बजेटतर्फ चालुमा ३२ प्रतिशत र पुँजीगतमा ४८ प्रतिशत निकास भएको छ । संघको राजस्व आम्दानी १२ करोड ३४ लाख ११ हजार २ सय २१ रुपैयाँ र प्रदेशको २ करोड ६३ लाख ९२ हजार ७ सय ५ रुपैयाँ संकलन भएको कोष नियन्त्रक रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधिस तेज नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना लगायत जिल्ला स्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लेखा अधिकृत लेखनाथ अधिकारीले गर्नुभएको थियो ।

You can share this post!

ताकमको पधेरामा रहेको धानको ब्याड ( फोटोफिचर )

मालिकामा मिलनको कार्यक्रमबारे जानकारी तथा अन्तरक्रिया

Related posts