म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित पुलाचौर स्वास्थ्यचौकीलाई अस्ट्रेलियाबाट साढे दुईलाख भन्दा बढीको स्वास्थ्य सामग्रीहरु सहयोग भएको छ । रोजगारको सिलसिलामा अस्ट्रेलियामा पुगेका पुलामी दाजुभाइहरुले आर्थिक सङ्कलन गरी स्वास्थ्यचौकीलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्रीहरु सहयोग गरेका हुन् ।
अस्ट्रेलियामा कार्यरत पुलाचौरका कुशल पौडेल, बाबुराम शर्मा, सन्तोष श्रेष्ठ, सरोज श्रेष्ठ, शिव श्रेष्ठ, अमित पौडेल, दिपक बानियाँ, सागर सुवेदी, किस्मत केसी, सनिप बानियाँ, आशिष सुवेदी, दिनेश खत्री, सुरेश खत्री, सिजन श्रेष्ठ र दिपक कुँबरले स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग गरेका थिए । उनीहरुले कुल दुईलाख ६७ हजार नौसय रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी स्वास्थ्यचौकीलाई आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन् ।
पुलामी दाजुभाइहरुले दुईदुई थान बेड, म्याट्रेस, पिलो, चार चारसेट पिलोकभर, तन्ना, दुईसेट डिजिटल बिपीसेट, १ सेट गुल्कोमिटर, ५ सेट पिपिई, ५० पिस सर्जिकल हेडक्याप, २ वटा ग्लोब्स बक्स, १० पिस अक्सिजन फेसमास्क, एक प्याकेट बिलिजिङ पाउडर खरिद गरी उपलब्ध गराएको स्वास्थ्यचौकीका सिनियर अनमी अमृता सुनारले बताइन् । उक्त सामग्रीहरु शुक्रबार स्वास्थ्यचौकी परिसरमा एक कार्यक्रमको आयोजना गरी अस्ट्रेलियामा कार्यरत पुलामी दाजुभाइहरुको अभिभावकहरुमध्ये मोहन खत्री, खेमराज पौडेल, वेदानन्द पौडेल र श्यामप्रसाद श्रेष्ठले स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बानियाँ, प्रमुख विष्णुमाया कुँबर तथा आर्थिक सहयोग सङ्कलन समितिका संयोजक रामप्रसाद सुवेदीलाई हस्तान्तरण गरेका थिए ।
उक्त सामग्रीहरु स्वास्थ्यचौकीमा आइसकेको हुँदा अक्सिजन कन्सन्टे«टर मेसिनलगायत स्वास्थ्य सामग्री भने आउने क्रममा रहेको स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्य सामग्रीहरु काठमाडौंबाट पुलाचौरसम्म पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँले ल्याएका थिए । सोही अवसरमा कुबेतमा रहेका पुलाचौरका तेजिन्द्र श्रेष्ठको संयोजनमा उनीसहित रमेश सुन्दास, जगत शाही, देवेन्द्र बर्देवा र कुमार सुन्दासले पठाएको नगद १५ हजार दुईसय रुपैयाँ स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ । त्यस्तै जापानमा कार्यरत पुलाचौरका सुन्दर श्रेष्ठ र सुजन श्रेष्ठले पनि स्वास्थ्यचौकीलाई नगद १० हजार रुपैयाँ आफ्ना बुबा खड्गप्रसाद श्रेष्ठमार्फत सहयोग गरेका छन् ।
स्वास्थ्यचौकीले स्थापना गर्न लागेको स्वास्थ्य विपद् व्यवस्थापन कोषमा हालसम्म दुईलाख ७३ हजार छ सय ९९ रुपैयाँ आर्थिक सङ्कलन भएको छ भने २४ हजार ५० रुपैयाँ खर्च भएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँले स्वास्थ्यचौकीको स्तरोन्नति र विकासमा आफूले सक्दो पहल गर्ने बताएका छन् । कार्यक्रमको समापन गर्दै स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले आफ्नो जन्मभूमि छाडेर विदेशमा गएर पनि स्वास्थ्यचौकीलाई सहयोग गर्ने सहयोगीदाताहरुको उच्च प्रशंसा गरेका थिए ।
कार्यक्रममा आर्थिक सहयोग सङ्कलन समितिका संयोजक रामप्रसाद सुवेदी, पुलाचौर रेडक्रस उपशाखाका सभापति शिव बानियाँ, जनकल्याण मावि पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेल र वडा सचिव कृष्णबहादुर बानियाँले मन्तव्य राखेका थिए । स्वास्थ्यचौकीका प्रमुख विष्णुमाया कुँबरले स्वागत र सिनियर अनमी अमृता सुनारले स्वास्थ्यचौकीले थालेको अभियानबारे जानकारी गराएको कार्यक्रमको सञ्चालन व्यवस्थापन उपसमिति संयोजक गजिन्द्र श्रेष्ठले गरेका थिए ।