प्रदेश राजधानी देउखुरी भए पछि दाङका जनतामा खुसीयाली, नाचगान र दीप प्रज्वलन गरेर स्वागत

प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ ।
दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित प्रदर्शन गरेको छ । प्रदेशको भावना समेटेर सबैको पायक पर्ने स्थानमा राजधानी स्थापना भएको समितिका संयोजक एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । समन्यायीक विकास, जनमतको कदर, संघीयताको मर्म र भावनाअनुसार राजधानी तोकिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।
राजधानीको निर्णय कार्यान्वयन, जग्गा व्यवस्थापन र संरचना निर्माणका लागि गाउापालिका पूर्णरुपमा तयारी अवस्थामा रहेको देउखुरीको राप्ती गाउापालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । ‘यो निर्णयले हामी सबैलाई उत्साहित बनाएको छ । हामी आवश्यक जग्गा र संरचनाको व्यवस्थापन गर्न तयार छौं,’ उनले भने, ‘यो निर्णयले प्रदेशलाई न्याय भएको छ । प्रदेशको केन्द्रमा राजधानी बनेको छ ।’
बबई गाउँपालिकामा पनि प्रदेश राजधानी देउखुरी र नाम लुम्बिनी प्रदेश राखिएको खुशियालीमा दीप प्रज्वलन गरिएको छ । गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा बिक लगायत स्थानीयको सहभागितामा प्रदेशको नक्सा बनाई दिप प्रज्वलन गरिएको थियो । यो निर्णयले सबैको भावनालाई आत्मसाथ गरेको अध्यक्ष पौडेलले बताए । गढवा गाउँपालिका अध्यक्ष सहजराज यादवले पनि देउखुरीलाई राजधानी बनाउने निर्णयले सबैलाई खुसी बनाएको बताए ।

You can share this post!

कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण

मंगलबार एक घण्टामा ४२ करोडभन्दा बढीको शेयर कारोबार

Related posts