युके निवासी शिला थापाद्वारा बरंजाका विद्यालय तथा संघ संस्थालाई ११ लाख बढि सहयोग

केपी सापकोटा

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ खर्क घरभई हाल युके निवासी शिला थापाले बरंजाका विद्यालय तथा सामाजिक संघ संस्थालाई आर्थिक सहयोग वितरण गर्नुभएको छ ।

सोमवार बरंजाका विभिन्न ठाउँमा आयोजित कार्यक्रमका अवसरमा थापाले बिद्यालय, क्लव तथा आमा समुहलाई नगद ११ लाख २५ हजार ६ सय ३० रुपैयाँ आर्थिक सहयोग वितरण गर्नुभएको हो ।

थापाले अरनीको आधारभूत विद्यालय धापुङ, जनप्रीय आधारभुत बुकेनी, शिवालय आधारभूत दुर्दी, जनता आधारभूत भोर्लेनी, दुर्गा आधारभूत, बाहुनपधेरा र पखेर आधारभूत विद्यालय पखेरलाई प्रति विद्यालय ५० हजार १०५ का दरले सहयोग प्रदान गर्नुभएको छ ।

त्यस्तै मण्डली आधारभूत विद्यालय खानिगाउँलाई १ लाख ५० हजार बराबरको ल्यापटप कम्प्युटर र नगद १६ हजार प्रदान गर्नुभएको छ ।
त्यस्तै गरि थापाले मंगला ४ स्थित थर्पुगाउँमा परम्परागत धुले मेला संचालन हुने मैदानमा दुई कोठे शौचालय निर्माणका लागि नगद २ लाख ५० हजार सहयोग उपलब्ध गराउनु भएको धुले मेला संरक्षण समितिका अध्यक्ष रन बहादुर रोकाले बताउनुभयो ।

थापाले सोही ठाउँमा स्टेज भवन निर्माणका लागि रु २ लाख ५० हजार यस अघिनै सहयोग गर्नुभएको थियो । सोही बजेटबाट स्टेज भवन निर्माण सम्पन्न गरिएको रोकाले बताउनुभयो ।

मगर नौमिति, विश्वकर्मा नौमति, परियार नौमतिबाजा समुहलाई ३५ हजार, बरंजाभिर रहेका ९ वटा आमा समुहलाई १० हजारका दरले ९० हजार, जनप्रीय आधारभूत विद्यालय खर्कलाई १० हजार, न्यू स्टार युवा क्लवलाई १० हजार, गिरी स्मृति युवा क्लवलाई १० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

समाजसेवी आमा समुह खर्कलाई २५ हजार बराबरको भाडाहरु, आलडाँडा सामुदायिक बन खर्कलाई १० हजार, वाखु आल्टा विजुली समाजलाई १० हजार, भजन मण्डली खर्कलाई १० हजार, खुरखुरे सेवा समाजलाई १० हजार रुपैयाँ वितरण गर्नुभएको हो ।

त्यस्तै गरिव तथा महिलाहरुलाई लक्षित गरि पोसाक समेत वितरण गर्नुभएको छ । हिमाली आमा समुह थर्पुगाउँका ३० जना, चिनाकोट आमा समुह खानीगाउँका १०० जना र समाजसेवी आमा समुह खर्कका ७५ जना गरि २०५ जना महिलाहरुलाई पोसाक सहयोग प्रदान गरिएको छ ।

साथै थापाले न्यु स्टार युवा क्लवले आयोजना गर्ने वार्षिक कार्यक्रम अनुसार पुरुष भलिबल प्रतियोगितको प्रथम पुरस्कार ५० हजार प्रायोजन गर्ने घोषणा समेत गर्नुभएको छ ।

सहयागे हस्तान्तरण गर्दै सहयोगी दता, समाजसेवी शिला थापाले आफु जन्मेको, हुर्केको ठाउँको माया र आफन्तजनहरुको सम्मानमा सहयोग उपलब्ध गराएको बताउनुभयो । कर्म क्षेत्र युके भएपनि जन्मगाउँ बरंजाको माया मन मुटुमा छ, थापाले भन्नुभयो, ‘मैले कमाएको केही रकम बंरजाको शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यहरुका सहयोग गर्ने ईच्छा हो यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेछु’ ।

कार्यक्रममा उहाँकी आमा मंगली पुन, छोरीहरु प्रमिना थापा, शिला थापा लगायत परिवारको उपस्थिति रहेको थियो । थापा र उहाँका परिवारलाई बरंजाबासीहरुले भव्य स्वागत र सम्मान समेत गरेका छन ।

मंगला गाउपालिका ३ साविकको बरंजा गाविस ६ खानिगाउँमा जम्निुभएकी थापाले साविकको वडा नम्वर ३ खर्कमा विवाह गर्नुभएको थियो । हाल परिवार सहित युकेमा रहनुभएका थापा छुट्टिको समयमा गाउँमा आउनुभएको बेला सो सहयोग वितरण गर्नुभएको हो ।

समाजसेवी थापा लोक दोहोरी गायीका समेत हुनुहुन्छ । उहाँले गाउनुभएका केही लोक दोहोरी गीतहरु बजारमा आईसकेका छन । युकेमा म्याग्दी संघ सम्वन्धित थुप्रै सामाजिक संघ संस्थामा आवद्ध थापाले नेपालबाट सांस्कृतिक कार्यक्रमका लागि युके जाने कलाकारहरुलाई समेत सहयोग गर्दै आउनुभएको छ ।

You can share this post!

प्रथम गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि म्याग्दीबाट खेलाडी छनौट

बेनपा ४ तातोपानीमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

Related posts