मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १२ पौष । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक दलमान गुरुङले उद्घाटन गर्नुभएको हो ।

शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो ।

प्रतियोगितामा विजेता विद्यालयले ८० हजार, उपविजेताले ६० हजार र तृतिय हुने विद्यालयले ४० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्वुजाले विद्यार्थीहरुलाई अनुशासनपूर्वक खेल कौशल प्रस्तुत गर्न आग्रह गर्नुभयो । खेलाडी उत्पादन गर्ने थलो विद्यालय भएकाले विद्यालय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गर्वुजाले बताउनुभयो । खेल क्षेत्रको विकासलाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष गर्वुजाको भनाई थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उत्कृष्ट खेलाडीले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा समेत आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले अनुशासनपूर्वक उत्कृष्ट खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो । साथै उहाँले निष्पक्ष र मर्यादित तवरले खेल संचालन गराउनका लागि सम्पूर्ण अफिसियलहरुलाई सपथ समेत गराउनुभएको थियो ।

उद्घाटन खेल स्वरुप आयोजित १५ सय मिटर दौडमा छात्रतर्फ किसानी मावि विमले स्वर्ण, जनप्रीय मावि दरवाङले कास्य र भिम मावि देविस्थानले रजत पदक जितेको छ । त्यस्तै छात्रातर्फ किसानी मावि विमले स्वर्ण, भिम माविले कास्य र जनप्रीय माविले रजत पदक जितेको छ ।

विजेता विद्यार्थीहरुलाई पालिका अध्यक्ष गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवि घर्ति पुन मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोका लगायतले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रीय माविका शिक्षिकाहरु, केवि एकेडेमी, फ्यचर स्टार मन्टेश्वरी लगायतका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षा शाखा अधिकृत अशोक रिजालको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोकाको स्वागत र जनप्रीय माविका प्रधानाध्यापक दिवाकर सुवेदीको संचालनमा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम सुरु हुनुपूर्व अतिथि, शिक्षक, विद्यार्थीहरुले बाजागाजा सहित दरवाङ बजार परिक्रमा गरेका थिए ।

 

 

 

You can share this post!

दुखुबेसीमा मितेरी युवा क्लवको खेलमैदान उद्घाटन, पाँचौ मितेरी कप सुरु

समाजसेवी रोकाले गरे नेत्र ज्योति संघलाई २ करोड ५० लाख मुल्यको जग्गा निशुल्क प्रदान

Related posts