म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेसीमा रहेको मितेरी यूवा क्लवको नवनिर्मित खेलमैदान एक समारोहका बिच उद्घाटन गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा करिब ४० लाख रुपैयाँको लागतमा क्लवले निर्माण गरेको खेलमैदान गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।
खेलमैदानको अभावका कारण स्थानीय सती आधारभुत विद्यालयमा खेल खेल्ने गरिएकोमा अब ब्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय खेलप्रेमी उत्साहित भएका छन् । खेलमैदान निर्माणले भलिबल, फुटबल लगायतका खेलकुद गतिविधि सञ्चालनमा सहज भएको छ ।
खेलमैदानको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजाले खेलमैदानको पूर्णताका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले एक वडा एक खेलमैदान ब्यवस्थित गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।
खेलमैदान उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पूर्व वडा अध्यक्ष सन्तनाथ सुबेदीले मन्तब्य राख्नु्भएको थियो । खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको ५ औं मितेरी कप समेत सुरु भएको छ ।
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरर्गत महिला, पुरुष भलिबल, महिला, पुरुष फुटबल, पौैढ भलिबल, ताराखेल लगायतका खेल सञ्चालन हुनेछन । साथै साथै पौष १३, १४ र १५ गते आमा समुह स्तरीय नृत्य प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, द वेभ व्यान्ड पोखराको लाईभ प्रस्तुती र चर्चित लोक पप गायक सम्भोज मल्लको सांगीतिक प्रस्तुती रहने क्लवले जनाएको छ ।
खेलमैदानको उद्घाटन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष हिमाल गुरुङ, स्वागत सदस्य किस्मत रोका र सञ्चालन संस्थापक अध्यक्ष राज जुग्जालीले गर्नुभएको थियो ।