फोनिज गण्डकी प्रदेशको ढोरपाटनमा अन्तरक्रिया

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) गण्डकी प्रदेश द्वारा बाग्लुङको ढोरपाटनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फोनिजको पदाधिकारी तथा सदस्यहरु ढोरपाटन क्षेत्रमा पुगी ढोरपाटन क्षेत्रको पर्यटन प्रर्वद्धनमा सञ्चारको भूमिका र पत्रकार क्षमता अभिवृद्धि बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कानून संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशका सचिव धर्मराज कुइकेलले सरकारले गरेका सवै गतिविधिलाई जनतासामु पुर्याउनका लागि संचारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ढोरपाटन गण्डकी प्रदेशमा रहेको नेपालकै एकमात्र सिकार आरक्ष भएकोले यसलाई थप ब्यबस्थित बनाउनका लागि गण्डकी प्रदेश सरकारले उचित बजेटको ब्यबस्थापन गरि कार्यक्रम संचालन गर्ने बताउनुभयो । उहाँले मध्यवर्ति सिमा विवादलाई टुङगाएर यो क्षेत्रको बिकासमा स्थानीयलाई संलग्न गराउनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

पहिलो दिन बुर्तिवाङमा भएको ढोरपाटन क्षेत्रको समृद्धिका आधार र संचारको भूमिका बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ढोरपाटन क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना भएपनि पर्यटन पुर्वाधार र बिकासका कामहरु प्रयाप्त नहँदा पर्यटन आगमनमा कमि भएको बताउनुभयो ।

साथै ढोरपाटनको बिकास र प्रचारप्रसारमा आफु सधै सकारात्मक रहेको पनि उहाँले बताउनुभयो । नगर प्रमुख नेपालीले भन्नुभयो, ढोरपाटनमा पूर्वाधार निर्माण गर्ने भनेका छौँ तर आरक्षणको कानूनले गाह्रो बनाएको छ । उहाँले आरक्षको नियमले गर्दा हाइअल्टिच्युट ग्राउन्ड र ८२८ मेघावाटको जलबिद्युत निर्माणको काम हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका उप प्रमुख करमति पुन, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई, वडा नं १ का अध्यक्ष चित्र बहादुर भण्डारी, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय सदस्य राम सुवेदी, मन्त्रालयका तर्फबाट उपसचिव हिमाल चन्द्र अर्याल लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा फोनिज गण्डकी प्रदेशका अध्यक्ष एम बि आस्थाले पर्यटन प्रर्वद्धनमा पत्रकारको अग्रणी भूमिका हुने बताउनुभयो । ढोरपाटन क्षेत्रका सम्भावना, समस्या र चुनौतिको विषयमा नजिकबाट अध्ययन गर्नका लागि यो कार्यक्रम यस क्षेत्रमा आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रम फोनिज गण्डकी प्रदेशका अध्यक्ष आस्थाको अध्यक्षता, उपाध्यक्ष दिल श्रीष मगरको स्वागत र महासचिव रुद्र श्रीष मगरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा फोनिजका गण्डकी प्रदेश अन्तरगतका विभिन्न जिल्ला समितिका पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो ।

s

You can share this post!

नेपाल पर्यटन बोर्ड र नाटाको भ्रमण टोलीलाई म्याग्दी उद्योग बाणिज्य संघद्वारा स्वागत

 जीवन जिउने कलासम्बन्धी उत्प्रेरणामूलक प्रशिक्षण

Related posts