जीवन जिउने कलासम्बन्धी उत्प्रेरणामूलक प्रशिक्षण

२० मंसिर २०७८, प्रताप बानियाँ, म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित जीवन जिउने कलासम्बन्धी उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र बेनी म्याग्दी र वडास्तरीय आमा समूह सञ्जाल सिङ्गाको समन्वयमा कार्यक्रम गरिएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा जीवन जिउने कलासम्बन्धी उत्प्रेरणामूलक विषयमा आधारित रहेर तनाव व्यवस्थापन, मनमा शान्ति कसरी ल्याउने, सकारात्मक सोच, ज्ञान हासिल गर्ने जस्ता विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रमको नेपाल प्लस रेडियो टिभीका अध्यक्ष तथा मोटिभेसनल पब्लिक स्पिकर नरमाया रसाईली र नेपाल प्लस टिभी रेडियोका कोअर्डिनेटर कविता गुरुङले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समाजमा रहेको लैङ्गिक हिंसा अन्त्य गर्नका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीका अध्यक्ष विष्णु गुरुङ, एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्रका अध्यक्ष देवी केसी र सहभागी मिना गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालको विशेष उपस्थिति रहेको कार्यक्रम सिङ्गाका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षता, वडास्तरीय मूल आमा समूहका अध्यक्ष लक्ष्मी पौडेलको स्वागत र एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्रका सचिव हिरा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

You can share this post!

फोनिज गण्डकी प्रदेशको ढोरपाटनमा अन्तरक्रिया

मणिपाल कलेजमा अनेरास्ववियुको तालावन्दी

Related posts