म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ घारको बिरौटा खानेपानि तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट ठाकुर प्रसाद बरुवालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।
कार्य समितिको उपाध्यक्षमा रिम बहादुर बरुवाल, सचिवमा मायादेवी बरुवाल र कोषाध्यक्षमा उर्मिला बरुवाल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सदस्य उज्जवल बरुवाल, डिल बहादुर खत्री, बम बहादुर बरुवाल, मैना खड्का र रबिना खड्का चयन हुनुभएको स्थानीय सुवोध बरुवालले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै घारका वडा अध्यक्ष राम बहादुर खड्काले विरौटा खानेपानी गाउँपालिकाकै नमुना भएकाले यसको संरक्षणका लागि वडाले निरन्तर सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी सुवेदार बहुत बहादुर बरुवाल, वडा सचिव फानमाया रिजाल, घार स्वास्थ्य चौकीका प्रमुख डिल्लीरमन पुन, वडा सदस्यहरु, ईलाका प्रहरी घारका भिम भुषाल, कृषि प्राविधिक शिवराम जैशी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुवोध बरुवालले स्वागत मन्तव्य व्यक्त गर्दै खानेपानीको आयोजनाको समस्या, चुनौति सहित तत्कालको अवस्था र दीर्घकालिन योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो । समितिका सचिव मायादेवी बरुवालले आर्थिक तथा संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न ५ वटा सुचकका आधारमा समितिले गरेको आन्तरिक मुल्यांकनबाट सरसफाईमा मिना खड्का र शेर बहादुर खड्कालाई पुरस्कृत गरिएको छ भने मर्मत सम्भारमा खटिएका कर्मचारी धन बहादुर खत्री र बेग बहादुर खत्रीलाई पनि डस्विन, टावेल र सावुन प्रदान गरि पुरस्कृत गरिएको छ ।
साथै सम्पुर्ण उपभोक्ता समितिलाई प्रोत्साहन स्वरुप सानो टावल र २ पिस हात धुने साबुन बितरण गरिएको समितिले जनाएको छ । २०७४ सालमा निर्माण भएको यस आयोजनाबाट ४२ घरधुरीलाई मिटर सहितको एक घर एक धारा खानेपानी सुविधा उपलब्ध गराईएको छ भने मुक्तिपथ आधारभुत विद्यालयलाई निशुल्क रुपमा एक धारा जडान गरिएको छ ।
घारखोला हाइड्रो पावरको सुरुङ निर्माण तथा पहिरोले गर्दा काउरवोटमा रहेको मुहान सुक्दै जान थालेको छ । जसले गर्दा हिउँदको समयमा पानी पु¥याउन मुस्किल भएको छ । पानीको मुहान संरक्षण कार्यका लागि सहयोग गरिदिन समितिले वडा तथा पालिकालाई आग्रह समेत गरेको जनाएको छ ।