काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
मंगलबार अनेरास्ववियु बागमती प्रदेश कमिटीले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई मूल्यवृद्धि फिर्ता गर्न ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज उमेश आचार्यको नेतृत्वको टोलीले आज मूल्यवृद्धि फिर्ता गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गइ सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दैछौँ ।’ पत्रमा भनिएको छ ।
निगमले हालै मात्र पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, हवाइ इन्धनमा १० रुपैयाँ र एलपी ग्यासमा ५० रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
अनेरास्ववियुले आफ्ना मागहरु पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ