कृषि र भेटेरीनरीको चालु आवमा स्वीकृत कार्यक्रम सार्वजनिक

म्याग्दी । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमहरुको सार्वजनिकिकरण गरेका छन । विहिवार कृषि ज्ञान केन्द्रको सभाहलमा दुई कार्यालयले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेका हुन ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत तथा निमित्त कार्यालय प्रमुख गोविन्द पाण्डेले चालु आर्थिक वर्षमा विभिन्न शिर्षकमा ४ करोड उन्नाईस लाख छ्यालिस हजार रुपैयाँ बराबरको स्वीकृत कार्यक्रमहरु प्रस्तुत गर्नुभएको हो ।

विनियोजित बजेटमध्य ४ करोड ४ लाख ८६ हजार रुपैयाँ पुँजीगत खर्च तथा १४ लाख ६० हजार रुपैयाँ चालुतर्फको कार्यक्रम खर्च रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कृषि प्रवद्र्धन, भौतिक संरचना निर्माण, विशेष बाली प्रवद्र्धन, कृषि प्रयोगशाला, साना सिचाई कार्यक्रम, रैथाने बालि संरक्षण कार्यक्रम, तालिम तथा परामर्श लगायतका कार्यक्रम रहेको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शिर्षकमा ३ करोड ९८ लाख ६९ हजार रुपैयाँ बराबरका कार्यक्रम रहेको जनाएको छ ।
चालु आर्थिक वर्षका लागि पशु पूर्ण खोप कार्यक्रम, पशुपंक्षी व्यवसाय प्रवद्र्धन, पशु स्वास्थ्य, पशु आहारा प्रवद्र्धन, पशु प्रजनन तथा नश्ल सुधार, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम रहेको केन्द्र प्रमुख जीवन प्रसाद आचार्यले बताउनुभयो ।

सार्वजनिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संघ र प्रदेशले बनाएको नीतिले साना किसानहरुलाई समेट्न नसकेको बताउनुभयो । उहाँले सवै पक्ष मिलेर कृषि र भेटेरिनरीका बार्षिक कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले भुगोल र कृषकको चाहना अनुसार जिल्लास्थित पालिका मिलेर कृषि र पशुपालन क्षेत्रका नीति नियम बनाउन आवश्यक रहेको बताउनुभयो ।
‘कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्रको अवधारणा सरकारले लियो तर विद्युतको अत्याधिक खपत हुनेहुँदा सामान्य कृषकले धान्नै नसक्ने अवस्था हुन्छ, भुगोल परिवेश र कृषकको अवस्था अनुसारको प्रविधिको विकास गर्न जरुरी छ’, अध्यक्ष गर्वुजाले भन्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले कार्यालयबाट संचालित बार्षिक कार्यक्रमको उपलब्धी र प्रभावकारिता पनि मापन गर्न सुझाव दिनुभयो । किसानहरुको जीवनस्तरमा के कस्ता सुधार आए, उत्पादनमा निरन्तरता छ की छैन, यी बिषयमा पनि कार्यालयले तथ्यांक सहितको प्रतिवेदन ल्यायो भने मात्र प्रभावकारिता मूल्यांक हुन्छ, प्रजिअ रानाले भन्नुभयो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यक्रम समीक्षासँगै चालु आर्थिक वर्षका कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि सुझाव समेत लिईएको थियो । कार्यक्रममा सहभागी कृषकले बास्तविक कृषकको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्न, कृषकको फर्म, खेतबारी पुगेर कृषि र कृषकका समस्या बुझ्न आग्रह गरेका थिए । सहभागीबाट प्राप्त सुझाव प्राथमिकताका साथ कार्यान्वयन गर्ने कार्यालय प्रमुखहरुले प्रतिवद्धता जनाउनुभएको थियो ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा भएको बार्षिक कार्यक्रम सार्वजनिकरण कार्यक्रममा पालिकाका जनप्रतिनिधि जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, कृषि तथा भेटेरिनरीका प्राविधिक, पत्रकार, कृषक लगायतको उपस्थित रहेको थियो ।

You can share this post!

काठमाडौँमा धवलागिरी संगीत उत्सव हुनेः तयारी अन्तिम चरणमा

प्रकाश दुतराजले गीत मार्फत भने ठै वरा पिरती

Related posts