मंगलाको हिदी, थाइवाङ, कुँहु र बाबियाचौरमा गठवन्धनको चुनावीसभाः सडक सहज बनाउने उम्मेदवारको प्रतिवद्धता

म्याग्दी । पाँच दलीय गठवन्धनले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा मंगलबार मंगला गाउँपालिकाको हिदी, थाइवाङ, कुहुँ र बाबियाचौरमा चुनावी सभा गरेका छन् ।
सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारहरुले रेल र पानी जहाजको महत्वाकाक्षी सपना भन्दा पनि गाउँका सडकलाई सहज बनाउनु म्याग्दीको आवश्यकता भएको बताएका छन् । उनिहरुले म्याग्दीका सबै गाउँबस्तिमा विकासका पूर्वाधारलाई समान हिसाबले व्यवस्थापन गर्न सकेमा सम्बृद्ध बनाउन सकिने बताए ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, कृषि, पशुपालन, जलविद्युत र पर्यटन मार्फत म्याग्दीलाई विकसित र समृद्ध बनाउन सकिने बताउनुभयो । ‘गाउँमा राम्रो शिक्षा र स्वास्थ्य, रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने र आधारभूत सेवा सुविधाको व्यवस्थापन गर्ने हाम्रो प्रतिवद्धता हो,’ उहाँले भन्नुभयो ‘सिमित ठाउँमा मात्र भन्दा पनि समग्र जिल्लाको समान विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ दुई पटक चुनाव हारेपनि राजनीतिमा निरन्तर क्रियाशिल भएको बताउदै गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले चुनाव जित्ने र गरेका प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम बहादुर जुग्जाली (सुविन)ले म्याग्दीको विकासमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधारका लागि प्रभावकारी योजना निर्माण र कार्यान्वयनमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

‘जनताको समस्या, आवश्यकता बुझेको र पुरा गर्न सक्ने क्षमता भएका गठबन्धनका उमेद्वारलाई जिताउनुहोला । हामी प्रतिवद्धता पुरा गर्छौ ।’ उहाँले भन्नुभयो । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले आफू छोटो समयका लागि योजना आयोगमा हुँदा रु. ८० करोड बिनियोजन भएको बेनी–दरवाङ सडक विगतमा चुनाव जितेका प्रतिनिधिको असहयोगका कारण पुरै बजेटको ठेक्का नलागेको र अहिले पनि पुरा हुन नसक्नु दुखद भएको बताउनुभयो ।

बेनी–दरवाङ सडकलाई ढोरपाटन र रुकुमसम्म जोडेर मध्य पहाडी राजमार्गको वैकल्पिक सडक बनाई पश्चिम म्याग्दीको समग्र विकासलाई मुलधारमा ल्याउन सकिने नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका श्रेष्ठले बताउनुभयो ।

संविधानसभा सदस्य गमबहादुर श्रीसले अहिलेको व्यवस्थालाई जोगाउदै देशलाई गलत नेतृत्वको हातमा पुग्न नदिनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो । नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले वर्तमान सरकारले अप्ठ्यारो अवस्थाका वावजुद पनि नागरिकलाई प्रतिवद्धता अनुसार कोरोना विरुद्धको खोपको व्यवस्था, विदेशमा विजुली निर्यातको सुरुवात जस्ता दुरगामी महत्वका काम गरेको बताउनुभयो । काँग्रेसका प्रदेशका समानुपातिक उम्मेदवार विमला गौचनले संविधानको रक्षा र देशमा शुसासन कायम राख्न गठबन्धन बनेको बताउनुभयो ।

You can share this post!

म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गछौँः प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठ

इमान्दार र अनुभवि नेता प्रदेश (ख) का उम्मेदवार याम गर्वुजा

Related posts