म्याग्दीमा ५८ प्रतिशत बढी मत खस्यो, मतपेटिका संकलन सुरु

म्याग्दी । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ५८ प्रतिशत बढी मत खसेको छ । जिल्लाका ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६ २५ जनाले निर्वाचनमा मतदान गरेको जनाइएको छ । मतदानमा पुरुष २४ हजार ३३१ र महिला २६ हजार २९३ जनाले सहभागीता जनाएका छन् । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भई मतपेटिका संकलन थालिएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सुरक्षाकर्मी सहितको टोलीले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालेका छन् । सदरमुकाम नजिक रहेका मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आउन थालेको सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । धौलागिरि र रघुगंगा गाउँपालिकाका विकटमा मतदान केन्द्रका मतपेटिका सोमबार मात्र आइपुग्ने निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

टाढा रहेका मतपेटिका सोमबार दिउसोसम्म मात्र आइपुग्ने उहाँले जानकारी दिनुभयो । सवै मतपेटिका आइपुगेपछि सोमबार साँझबाट मात्र मतगणना थालिने उहाँले बताउनुभयो । धवलागिरि गाउँपालिका १ गुर्जा,४ मुदीको बगराका मतपेटिका बेनी ल्याउन करिब ८ घण्टा पैदल हिड्नुपर्दछ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

You can share this post!

बेनपा–५ उपल्लाचौरमा गठवन्धनका कार्यकर्ताद्वारा दलित महिलालाई कुटपिट

गुर्जा र बगरबाट मतपेटिका लिएर टोली सदरमुकाम बेनी आउँदै

Related posts