सुवाका बाढि पहिरो पीडितलाई राहत सामग्री सहयोग

गंगा पुन
म्याग्दी, भदौ १० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर सुवाका पहिरो पीडितलाई विभिन्न राहत सामग्री सहयोग गरिएको छ । पहिरोबाट विस्थापित भई वडाको सभाहलमा बस्दै आएका सुवाका २० घरपरिवार र फगाम, सुवा काभ्रे लगायतका स्थानबाट ज्ञान प्रकाश मावि र सर्वोदय माविमाको छात्रावासमा बस्ने विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानीबाट प्राप्त २५ किलोको चामल ७ बोरा, ब्लाङ्केट २० थान र किचन सामग्री सेट १ थान सहयोग हस्तान्तरण गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी पुनले जानकारी दिनुभयो ।

उपाध्यक्ष पुनका अनुसार मिलन म्याग्दीबाट ५ सय ग्रामको सर्वोत्तम पिठो ४० प्याकेट र धोएर प्रयोग गर्न मिल्ने कटनको सेनेटरी प्याड २५ थान वितरण गरिएको छ ।

त्यस्तै पहिरोबाट विस्थापित परिवारलाई दाना काभ्रेको रुप्से संगम युवा क्लवले करिव १० हजार बराबरको दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको क्लवका अध्यक्ष नर बहादुर पुनले बताउनुभयो ।

उक्त सामग्री कल्व अध्यक्ष पुन, वडा अध्यक्ष रमेश पुर्जा र वडा सदस्य लालु पुनले विस्थापित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । गत साउन ३२ गते रातिको अविरल वर्षाका कारण गाउँको शिर र कालीगण्डकी नदितिरको खामभित्ता र सुकेबगर क्षेत्रमा पहिरो गएपछि सुवा गाउँलाई पहिरोले तहसनहस बनाएको थियो ।

पहिरोबाट उच्च जोखिममा रहेका १० घरपरिवारलाई गाउँपालिकाले दानाको वडा कार्यालयमा अस्थायी संरचना बनाएर सुवाका १० घरपरिवारलाई भदौ ४ गते सुरक्षित स्थानमा सारेको थियो ।

You can share this post!

कृषि र भेटेरिनरी कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

कोसेली बोकेर सुत्केरीको घरमै पुगे जनप्रतिनिधि

Related posts