म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ मा रहेको ऐतिहाँसिक पर्यटकीय स्थल चिनाकोट दरवार पुग्ने पदमार्ग निर्माण भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य, पूर्व सामाजिक विकास मन्त्री नरदेवि पुनको पहलमा सांसद विकास कोषबाट पूर्वाधार विकास कार्यालय मार्फत रकम परिचालन हुने गरि प्राप्त ९ लाख रुपैयाँ र स्थानीय को १ लाख १० हजार बराबरको श्रमदानबाट पदमार्ग निर्माण भएको हो ।
घाम्टाङ देखि चिनाकोट सम्मको करिव ४०० मिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्पण रोकाले जानकारी दिनुभयो । घाम्टाङ देखि चिनाकोट सम्मको जम्मा ७०० मिटर बाटोमा करिव ६० प्रतिशतमा पदमार्ग निर्माण भएको अध्यक्ष रोकाले बताउनुभयो ।
उहाँका अनुसार चिनाकोट पुग्नका लागि वाँकी पदमार्ग पनि निर्माण गर्न आवश्यक रहेको छ । “प्राप्त बजेट अनुसार काम गर्दै जाँदा अप्ठ्यारो ठाउँमा पुगेर पदमार्ग निर्माण रोकिएको छ, यो बर्ष पनि बजेटको आवश्यक छ” रोकाले भन्नुभयो ।
आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको चिनाकोटमा पुग्नका लागि पदमार्ग अति नै आवश्यक रहेको छ । हाल ढुङ्गाको सिढि सहितको पदमार्ग निर्माण भएपछि चिनाकोट आवतजावत गर्ने पर्यटकहरुलाई आधिबाटो सम्म यात्रा गर्न सहज भएको छ ।
चिनाकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि यस अघि गाउँपालिकाले धुरीमा उक्लिनका लागि रेलिङ सहितको पदमार्ग निर्माण गरिसकेको छ भने खानेपानीको व्यवस्थापन, टवाईलेट लगायतको पूर्वाधार निर्माण गरेको छ ।
बाईसे चौविसे राज्यको समयमा राजा बसेकोले चिनाकोटको महत्व विशेष रहेको छ । चिनाकोटमा अझैपनि दरबारका भग्नावशेष, रानी बसेर कपाल कोर्न ढुङ्गा, पानी खाने कुवा, सिपाहीहरुले सुरक्षाका लागि बनाईएका पर्खाल लगायत रहेकाले ऐतिहाँसिक महत्वको चिनाकोटलाई संरक्षण र सम्वद्र्धन गरिने वडा अध्यक्ष याम रोकाले बताउनुभयो ।
समुन्द्री सतहदेखि २२ सय मिटरको उचाईमा रहेको चिनाकोट दरवारलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मंगला गाउँपालिकाले गुरु योजना तयार गरि पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
चिनाकोटबाट, मंगला, मालिका र बेनी नगरपालिकाका अधिकांश बस्तीहरु सहित डाँडाकाँडाहरुको दृश्यावलोकन गर्न सकिन्छ । धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका दर्जनौ हिमश्रृङ्खलाहरु सन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गर्दछ । चैत वैशाखमा चिनाकोट परिसरको बनै भरि ढकमक्कै फुल्ने लाली गुराँस त्यहाँको प्रमुख सुन्दरता हो ।