भागरथी हत्याको पोस्टमार्टम रिपोर्ट भन्छः ‘बलात्कारपछि घाँटी थिचिएको थियो’

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीबाट सोमबार आएको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको हो ।
प्रहरीका अनुसार अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि बीभत्स तरिकाले हत्या गरिएको, टाउको, खुट्टा, हातमा चोट लागेको, मुख र योनिबाट रगत बगेको उल्लेख छ । बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टमबाट देखिएको बताए । घिसारेको र शरीरमा घाउ पनि देखिएको उनले जनाए ।
शव फेला परेको पाँच दिन बित्दासमेत प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी, प्रदेश प्रहरीका एसएसपी जनक पाण्डे नेतृत्वको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी नेतृत्वको टोली खटिएको छ । धनगढीबाट तालिम प्राप्त कुकुर पनि अनुसन्धानका लागि ल्याइएको छ ।
भागरथी हत्या प्रकरण ः दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान
डीआईजी सुवेदी घटनाको अनुसन्धान नसकिएसम्म यतै बस्ने योजनामा रहेको प्रहरी स्रोतले बताएको छ । अहिलेसम्म सोधपुछको क्रम जारी रहेकाले नियन्त्रणमा कसैलाई नलिएको बैतडीका डीएसपी अधिकारीले बताए । धेरै जना शंकाको घेरामा भएकाले अनुसन्धानमा ढिलाइ भइरहेको उनले जनाए । ‘अहिले हामीले मृतकसँग सम्बन्ध भएकालाई सोधपुछ गरेर घटना केलाइरहेका छौं । अनुसन्धानको दायरामा शंकास्पद धेरै जना हुनुहुन्छ, यसको रिजल्ट चाँडै ल्याउँदै छौं,’ अधिकारीले भने ।
भागरथीको शव फेला परेकै पाँच दिन बित्दासमेत घटनामा संलग्न कोही पक्राउ नपर्दा मृतकका आफन्त अपराधी उम्किने चिन्तामा छन् । विद्यालयबाट बुधबार घर नफर्केकी भागरथीको बिहीबार साँझ ५ बजेतिर शव भेटिएको थियो । दिन बित्दै जाँदा र कोही पनि पक्राउ नपर्दा न्याय पाइँदैन कि भन्ने शंका उब्जिएको मृतकका काका शंकर भट्टले बताए । ‘हुन त प्रहरी यतै आएर अनुसन्धान गर्दै सोधपुछ गरिरहेको छ, अपराधीलाई चाँडो बाहिर ल्याउँछौं भनेर आश्वासन पनि दिइरहेको छ, फोनबाट पनि काम भइरहेको प्रहरी बताउँछ,’ उनले भने, ‘पहिलेको जस्तो छिट्टै पक्राउ पर्छ भन्ने मनोभाव हराएको छ । के हुन्छ, कस्तो हुन्छ, पत्ता लाग्छ कि लाग्दैन शंका बढेको छ ।’
भागरथीका परिवारजन भन्छन्–‘निर्मलाको जस्तो हविगत नहोस्’
पहुँचवाला दोषी भए उम्किन्छन् कि भनेर शव बुझ्न नमानेको उनले बताए । ‘भागरथीलाई न्याय दिलाउन गठन भएको संघर्ष समितिले दोषी सार्वजनिक नगर्दासम्म शव नबुझ्ने निर्णय गरेको छ,’ उनले भने । दोगडाकेदार गाउँपालिकामा पर्ने साविकको देउलेक गाविसमा यसअघिका यस्तै जघन्य अपराधका घटना पनि ‘गुपचुप’ मै रहेको पाइएको छ ।
यसले पनि भागरथीका आफन्त आशंकित बनेका हुन् । करिब चार वर्षअगाडि चडेपानी गाउँमाथि मेला हेर्न गएका स्थानीय जयसिंह कार्कीलाई भीरबाट धकेलेर मारिएको घटनाको प्रहरीमा किटानी जाहेरी आउँदासमेत अनुसन्धान गरिएको थिएन । उक्त घटनामा अहिलेसम्म संलग्न कोही पक्राउ परेका छैनन् । त्यसअघि २०६२र६३ तिर बोरामा हालेर खोचलेककै स्कुलबाट तल सडकमा फालिएका गगनसिंह कार्कीको हत्या घटनामा संलग्न पनि अझै पत्ता लाग्न नसकेको स्थानीय नवराज भट्टले बताए ।
२०६५ सालमा घरको छाना फुटाएर धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी खुर्रा कार्कीको हत्यामा संलग्न र चडेपानीकै अर्का एक भट्ट थरका व्यक्तिको हत्याका दोषी पनि अहिलेसम्म पत्ता नलागेको उनले बताए । यही ठाउँमा भएका धेरै घटनामा संलग्न कोही पक्राउ नपरेकाले भागरथी बलात्कारपछि हत्या घटनामा पनि यही आशंका लागिरहेको हो । ‘किटानी जाहेरीसहित प्रहरी कार्यालय पुग्दा पनि केही भएन । यही आसपास भएका अघिल्ला घटनामा कोही पक्राउ परेका छैनन्,’ नवराजले भने, ‘यसले दोषी पत्ता लाग्छ भन्ने कुरामा सहजै विश्वास गर्न सकेका छैनौं ।’ भागरथी बलात्कारपछि हत्या घटनाको अनुसन्धानक्रममा यसअघिका घटना पनि केलाइने डीएसपी अधिकारीले बताए ।
बाहिर डरले कोही नबोले पनि घटनास्थल नजिकका बासिन्दा र स्थानीय खोचलेक चौकीका प्रहरीलाई धेरै कुरा थाहा हुन सक्ने उनले दाबी गरे । दुईरचार घण्टाभित्र अपराधी पत्ता लाग्छ भन्ने सोचिरहेका बेला पाँच दिन भइसक्दासमेत कोही पक्राउ नपर्नु शंकाको विषय रहेको उनले बताए । यो घटनामा संलग्न पनि निर्मला पन्तकै जसरी पक्राउ पर्दैनन् कि भन्ने आशंका स्थानीयमा उब्जिएको छ ।
कान्तिपुरबाट

You can share this post!

बेनी नगरपालिकाद्धारा चालु आर्थिक वर्षको संसोधित बजेट बक्तव्य तथा वातारण तथा प्राकृतिक स्रोतको संरक्षण विधेक पारीत

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

Related posts