विद्यार्थीलाई सहकारीद्वारा न्यानो कपडा वितरण

प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्थाले जाडो मौसममा चिसोबाट बच्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । म्याग्दी जिल्लाको दुईवटा स्रोतकक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको सहकारीले जनाएको छ । सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत बेनी नगरपालिका–५, बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपाङ्गता स्रोतकक्षाका १२ जना विद्यार्थीलाई न्यानो टोपी र मोजा वितरण गरिएको छ । यसैगरी बेनपा–४ सिङ्गाको धौलागिरी माविको बहिरा स्रोतकक्षाका १६ जना विद्यार्थीहरूलाई पनि टोपी, मोजा र हाईनेकसहित २० हजार रुपैयाँ बराबरको न्यानो कपडा सहयोग गरिएको सहकारीका प्रवन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।

 

सोही अवसरमा सहकारीले त्रैमासिक परीक्षाअन्तर्गत विद्यालयमै सर्वोत्कृष्ट नतिजा ल्याउने सोनी थापालाई झोला, स्टेशनरीका साथै करिब ३५ सय बराबरको सहयोग गरेको छ । सहकारीका अध्यक्ष हरिकृष्ण गौतमले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष शैक्षिक तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सदस्यहरू अर्जुन पौडेल, भीमनाथ शर्मा, बालजागृतिका प्रधानाध्यापक धनबहादुर खत्री, धौलागिरी माविका प्रअ डण्डपाणी सापकोटा, शिक्षा विकास तथा समन्वय इका इको समावेशी शिक्षा कार्यक्रम संयोजक कल्पना केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा धौलागिरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्णबहादुर खड्का (भगवान)ले बहिरा र अति विपन्न विद्यार्थीका लागि न्यानो कपडाले पठनपाठनका क्रियाकलापमा थप ऊर्जा मिलेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सहकारीका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गर्नुभएको थियो ।

You can share this post!

जिप दुर्घटनामा वडा सचिवको मृत्यु

घरेलु उद्योग महासंघ म्याग्दी शाखा प्रदेशमा उत्कृष्ट

Related posts