म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उम्मेदवार चयन गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका मालिका गाउँपालिका अध्यक्ष दोरण शेरचनले जानकारी दिनुभयो ।
मालिकाको वडा न. १ निस्कोटमा तिलक पुन, वडा नम्बर २ रुममा हर्कलाल दर्जी, वडा नम्बर ३ डाडागाउँमा मोतिप्रसाद बुढा, वडा नम्बर ४ ओखरबोटमा रेशम पुन, वडा नम्बर ५ देविस्थानमा विनोद फगामी, वडा नम्बर ६ दरवाङमा ओमकार रोका र वडा नम्बर ७ बिमको अध्यक्षमा रुविन जुग्जाली माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार छनौट हुनुभएको छ ।
मालिकाको विकास, सम्बृद्धी र सुशासन लागि योग्य र सक्षम उम्मेदवार चयन गरिएको शेरचनले बताउनुभयो । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेसले हालकै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई मालिकाको अध्यक्षको उम्मेदवार चयन गरको छ । त्यस्तै नेकपा एमालेले पालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजालाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरिसकेको छ ।
माओवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएका जुग्जाली २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिममा स्वतन्त्रबाट उम्मेदवार बनेर वडा अध्यक्षमा बिजयी हुनुभएको थियो ।
जुग्जालीले वडा अध्यक्षको रुपमा विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, सामाजिक विकृति न्युनीकरण र विपद् ब्यवस्थापनमा सफल नेतृत्व गर्नुभएको थियो । स्थानीय तहको नीति नियम, योजना र कार्यक्रम जनताको आवश्यकता र भावनासँग मेल खाने हुनुपर्छ भन्ने मान्यता राख्ने जुग्जालीले त्यस्तै खालका योजना बनाएर कार्यान्वयन गरि मालिकाको विकास गर्ने लक्ष्य लिनुभएको छ ।
स्थानीय उत्पादनको बृद्धि गरि निर्यात गर्ने र आम्दानी बढाउने योजना अघि सारी गाउँगाउँमा रोजगारीको अवसर सृजना गर्ने उहाँको सोँच छ ।
उपाध्यक्षका उम्मेदवार सेञ्चुरी यसअघिको स्थानीय चुनावमा पनि माओवादी केन्द्रबाट उपाध्यक्षकै उम्मेदवार बन्नुभएको थियो । उहाँ माओवादीको गण्डकी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । वडा अध्यक्षका उम्मेदवारमा अधिकांश युवाहरु छन् ।
सबै वडाका सदस्यका उम्मेदवारहरु पनि छनौट गरेर चुनाव प्रचार अभियानलाई तिब्र बनाएको गाउँपालिका अध्यक्षका उम्मेदवार जुग्जालीले बताउनुभयो । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता छन् । बैशाख ३० गते हुने चुनावमा मालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।