म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको उपमेयरमा एउटै वडाका ४ जना महिलाहरुले उम्मेदवारी दिनुभएको छ । उपमेयरमा मनोनयन दर्ता गराउनुभएका पशुपति शाही, अमृतदेवी बानियाँ, ज्योति लामिछाने, र मुना बानियाँ बेनी नगरपालिका वडा नम्बर ६ निवासी हुनुहुन्छ ।
शाहिले नेकपा एमालेबाट, बानियाँले नेपाली काँग्रेसबाट, लामिछानेले नेकपा माओवादीबाट र अर्की बानियाँले नेकपा एकिकृत समाजवादीबाट बेनीको उमपेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उपमेयरमा उम्मेदवारी दिनुभएका चारै जना सक्षम र योग्य व्यक्ति हुनुहुन्छ । राजनैतिक तथा सामाजिक रुपमा पनि राम्रो छवि बनाएका उम्मेदवारहरु भएकाले पनि प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।
नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बन्नुभएका शाही बेनपा ६ जामुनाखर्क निवासी हुनुहुन्छ । उहाँ पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेमसंघका जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला संजालकी जिल्ला अध्यक्ष हुनुहुन्छ ।
सानै उमेरदेखि राजनीतिमा सक्रिय शाही निडर लिडरको रुपमा स्थापित हुनुहुन्छ ।
गाउँको सामुदायिक बन, बिद्यालय व्यवस्थापन समिति, आमा समुह, तथा विभिन्न संघसंस्थामा आवद्ध भई सामाजिक कार्यहरुमा क्रियाशिल शाही जनताको सेवा र नगरको समृद्धिका लागि उपमेयरमा उम्मेदवारी दिएको बताउनुहुन्छ ।
त्यस्तै नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका बेनपा ६ छाप निवासी बानियाँ नेपाली काँग्रेसको गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ । २०५४ सालमा वडा नम्वर ९ अर्थुङ्गेको वडा सदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गर्नुभएका बानियाँ काँग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुईपटक महाधिवेशन प्रतिनिधि भईसक्नुभएको छ ।
साथी संस्था, लायन्स क्लव, महिला स्वयमसेवीका लगायतका भुमिका तथा जिम्मेवारीमा रहेर सामाजिक अभियान्ताको रुपमा सक्रिय बानियाँ सेवा र सशक्तिकरणका निम्ती उपमेयरमा आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।
नेकपा माओवादीबाट उम्मेदवार बन्नुभएका ज्योति लामिछाने पनि बेनपा ६ थाकनपोखरी निवासी हुनुहुन्छ । हाल नेकपा माओवादीको प्रदेश कमिटी सदस्य लामिछानेले अखिल क्रान्तीकारी बिद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो ।
२०६० साल देखि निरन्तर राजनीतिमा सक्रिय उहाँ हाल विभिन्न संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । लामिछाने यसअघिको निर्वाचनमा उपमेयर पदमा नै ३४ मतले पराजित हुनुभएको थियो । श्रमजीवि बर्गको उत्थान तथा सामाजिक परिवर्तन आफ्नो लक्ष्य रहेको उहाँको भनाई छ ।
त्यस्तै नेकपा एकिकृत समाजवादीबाट उम्मेदवार बन्नुभएकी मुना बानियाँ पनि बेनी नगरपालिका –६ अथुङ्गे निबासी हुनुहुन्छ । पार्टीको केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज हुनुहुन्छ । २०४८ साल देखि नेकपा एमालेको राजनीतिमा सक्रिय बानियाँ जिल्लाको स्थापित महिला नेतृ हुनुहुन्छ । उहाँ नेकपा एमालेको प्रदेश कमिटी सदस्यहुनुहुन्थ्यो ।
७ महिना अघि पार्टी विभाजन हुँदा उहाँ माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीमा लाग्नु भएको थियो । नागरिकको आधारभूत आवश्यकता परिपूर्तिदेखि बेनीको बृहत्तर विकासका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
सत्तारुढ दलले आसन्न स्थानीय तहको निर्वाचन देखि प्रदेश र संघको निर्वाचन सम्म पनि गठबन्धन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । बुधबार मात्रै पनि गठबन्धनको केन्द्रीय बैठकले गठबन्धनको समझदारी विपरित गठवन्धनभित्रका दलहरुबाट दर्ता भएका उम्मेदवारी बैशाख १६ गते सम्म फिर्ता लिन आव्हान गरेको छ ।
म्याग्दीमा धवलागिरी गाउँपालिका बाहेक अन्य पालिकामा गठबन्धन भएको छैन । बेनी नगरपालिकाको केहि वडामा काँग्रेस र माओवादी विच तालमेल भएपनि मेयर र उपमेयर पदमा भने काँग्रेस, माओवादी र एकिकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन ।