म्याग्दी । म्याग्दी जिल्लाको इतिहासमा भलिबल खेलको विकासका लागि हालसम्मकै सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गरिएको छ । युवा पुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल अक्षयकोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले संकलन गरेको ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
बुधबार सदरमुकाम बेनीमा आयोजित एक समारोहमा मोना यूकेका अध्यक्ष कुमार फगामी, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी जिल्ला भलिबल संघ तथा भलिबल अक्षयकोषका अध्यक्ष तेजेन्द्र बानियाँलाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो । सोही अवसरमा मोना कुवेतबाट ५० हजार, भलिबल संघ कार्यसमितिको १ लाख २० हजार, मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काबाट १ लाख, प्रकाश कार्की यूएईबाट २० हजार सहयोग प्राप्त भएको छ ।
१ करोडको अक्षयकोषको लक्ष्य रहेकोमा हालसम्म ४६ लाख ५१ हजार ३९९ जम्मा भएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गर्बुजाले भलिबल खेललाई चलायमान बनाउन कोषले सहज हुने बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल भलिबल संघका राष्ट्रिय उपाध्यक्ष याम गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाही, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले अक्षयकोषले म्याग्दी भलिबलका लागि स्वर्णीम अवसर सृजना गर्ने बताएका थिए ।
मोना यूकेका अध्यक्ष कुमार फगामीले जिल्लास्तरमा भलिबलका राम्रा क्षमतावान खेलाडीलाई छनोट गरेर राष्ट्रिय टिमका लागि तयार गर्न सघाउने गरी कोषमा सहयोग गरेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा भलिबलको प्रतिभालाई छनोट गरी,ट्रेनिङ गराउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘एक्सपोज’ गराउने, भलिबल क्षेत्रको विकासका लागि भविष्यमा पनि सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा अक्षयकोषका लागि सहयोग गरेका मोना युकेका अध्यक्ष कुमार फगामी, मोना युके, म्याग्दी भलिबल क्लव युके मोना कुवेत लगायतलाई सम्मान समेत गरिएको थियो ।
म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले अक्षयकोष भलिबलका खेलाडीहरू उत्पादन तथा प्रशिक्षण र तालिममा केन्द्रित गर्ने बताउनुभयो । विद्यालय खेलकुद क्षेत्रको नर्सरी भएकाले खेल प्रतिभाको उत्पादन गर्नका लागि विद्यालयस्तरलाई केन्द्र विन्दुको रूपमा लिएर शिक्षकलाई समेत भलिबल खेलमा आर्कषित गरेको बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष बानियाँ, स्वागत सचिव कुमार किसान र सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गरेका थिए । कार्यक्रममा पविता पुन, धु्रव जिसी लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीको नेतृत्वमा प्रतिष्ठान म्याग्दीले मोना युकेका अध्यक्ष कुमार फगामीलाई सम्मान गर्नुका साथै मादल मायाको चिनो स्वरुप उपहार दिएको थियो ।