नेपाली काँग्रेसले ३० वडामा अध्यक्षको उम्मेदवार टुङ्ग्यायो

आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले ३० वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा काँग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ ।

जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १, ७, मंगला गाउँपालिका वडा नं २, रघुगंगा गाउँपालिका वडा नं २,३,४,६,७, र धवलागिरीको सात वटै वडा बाहेक सबै वडामा वडा अध्यक्षका लागि उम्मेदवार चयन गरिसकिएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिरा पुनले बताउनुभयो ।

धवलागिरीमा तालमेलका लागि दुवै दलका नेता सकरात्मक भएकाले काँग्रेसले उम्मेदवार चयन नगरेको सचिव पुनको भनाई छ । त्यस्तै बेनी नगरपालिका, मंगला र मालिकाको प्रमुखको उम्मेदवार पनि सर्वसम्मत रुपमा चयन गरिएको पुनले बताउनुभयो ।

वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको वडाहरूमा चुनावी रणनीति सहित आवश्यक तयारी थाल्न समेत निर्देशन दिइएको छ । यता पाँच दलिय गठबन्धनको तालमेल भने अन्योलमा परको छ ।

गठबन्धन भित्रका दलहरुले एउटै स्थानीय तहमा प्रमुख पद माग गरेकाले समस्या भइरहेको छ । मालिकामा काँग्रेस र माओवादी दुबै दलको अध्यक्षमा दावी भएकाले अन्य स्थानीय तहमा समेत गठबन्धनको प्रगति सुस्त बनेको हो ।

मालिका बाहेकका अन्य पालिकामा तालमेलका लागि विहिबार दुवै दलका शिर्ष नेताविच अन्तिम पटक छलफल गरि निष्कर्ष निकालिने सचिव पुनको भनाई छ ।

भोलिको छलफलबाट माओवादी संग तालमेल हुने या नहुने भन्ने अन्तिम निर्णय हुन्छ, उहाँले भन्नुभयो । सहमतिको वातावारण बनेन भने बाँकी रहेका वडा तथा पालिकामा उम्मेदवारहरुको भोली नै टुङ्गो लगाउने काँग्रेस म्याग्दीले जनाएको छ ।

 

You can share this post!

अर्थतन्त्र सुधारोन्मुख रहेको परिसंघको दावी

मंगला इन्द्रेनी पार्क निर्माणको अन्तिम चरणमा

Related posts