म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निमार्ण भईरहेको मंगला इन्द्रेनी पार्कको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक बर्ष २०७५÷०७६ देखि सुरु गरिएको पार्कको करिव ९० प्रतिशत काम सम्पन्न भईसकेको छ ।
मंगलामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीयहरुलाई शारीरिक व्यायाम, बिश्राम सहित आनन्दको अनुभूति दिलाउने उद्देश्य अनुरुप गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको परिकल्पनामा पार्क निमार्ण योजना अघि सारिएको थियो ।
इन्द्रेनी पार्कमा हाल सम्म सङ्ग्रहालय भवन, प्रतिक्षालय, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, ट्वाईलेट, वाथरुम लगायतका भौतिक संरचनाहरु निर्माण सम्पन्न भएका छन । पार्कको विभिन्न भागहरुमा रेलिङ र सिढी बनाईएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट पनि तयार भईसकेको छ ।
पार्कलाई हरियाली र आकर्षक बनाउनका लागि खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका सुन्दर फूलहरु रोपिएको छ भने बाह्रैमास हरियो रहने दुबो पनि सारिएको छ । फुल तथा दुबोलाई हरियाली बनाईराख्न नियमित रुपमा पानीको प्रयोग गरिदै आएको छ । त्यसका लागि बाबियाचौरका स्थानीयले प्रयोग गर्ने मिटरको पानी जडान गरिएको छ । मिटरबाट नआएको समयमा म्याग्दी नदिबाट समेत पानी तान्न सकिने व्यवस्था मिलाईएको छ ।
पार्क निर्माणका लागि हाल सम्म १ करोड ८ लाख ६७ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्क निमार्णमा गाउँपालिकाले आर्थिक बर्ष २०७५÷७६ मा २५ लाख, ०७६÷०७७ मा २५ लाख र ०७७÷०७८ मा २१ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
उपभोक्ता समितिबाट योजना संचालन गरिएकाले प्रत्यक बर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीयले श्रमदान समेत गरेका छन । त्यस्तै पार्क भित्रै दुईतले दुईवटा हल भएको मंगला सङ्ग्रहालय भवन निर्माण गरिएको छ ।
दुई आर्थिक बर्षमा पालिकाबाट विनियोजन भएको रु ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरि कुल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो ।
सङ्ग्रहालय भवनमा पालिका भित्रका ऐतिहाँसिक तथा पुरात्वात्तिक बस्तुहरु, विभिन्न जातजाति, समूह तथा वर्गका सिप, कला, संस्कृति तथा मौलिकता झल्किने महत्वपूर्ण सामग्रीहरु संकलन गरेर राखिने छ । त्यसका लागि भवन भित्र आवश्यक संरचना तयार पार्ने काम भईरहेको छ ।
मंगला गाउँपालिका–२ बाबियाचौर निबासी इन्द्र बहादुर र सम्मर बहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलव्ध गराउनुभएको हो । म्याग्दी नदिको किनारमा रहेको ४ रोपनी जग्गा इन्द्र बहादुर अधिकारीले गाउँपालिकालाई निशुल्क रुपमा प्रदान गर्नुभएको हो भने ५ आना जग्गा सम्मर बहादुर अधिकारीले पालिकाबाट जम्मा रु ३ लाख मात्रै लिएर सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।
२ हजार १ सय ९१ दशमलव ९५ बर्गमिटर क्षेत्रफलमा निर्माण भएको पार्कमा निशुल्क रुपमा जग्गा दान गर्ने इन्द्र बहादुर अधिकारीको अर्धकदको सालिक बनाउने तयारी समेत भईरहेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । पार्कमा बालबालिका लागि आवश्यक सामग्री लिएर आकर्षक बालउद्यान समेत बनाउने योजना रहेको छ ।
हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले ती सवै पुरा भएपछि मात्रै पार्क संचालनमा ल्याईने अध्यक्ष रोकाले बताउनुभयो । बिशेष गरि पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मंगला पार्क रहने छ । सङ्ग्रहालय मंगलाको संस्कृति र पहिचान झल्किने परम्परागत सामग्रीहरु अवलोकन गर्न पाउनु पार्कको अर्को बिशेषता रहने अध्यक्ष रोकाको भनाई छ ।
नदिको किनारमा भएकाले स्वच्छ र शान्त वातावरण सहित बालबच्चा देखि बृद्धबृद्धा सम्मका सवैलाई मनोरञ्जन र आनन्दको महशुस हुनेगरि पार्क निर्माण गरिएको छ । यसले मंगलामा आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गर्न सक्ने अपेक्षा गरिएको छ ।