बेनीमा एकतर्फि यातायात संचालनको नियम लागु गरियो

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीको वडा नं ७ र ८ स्थित सडकमा बिहिबार देखि एकतर्फि यातायात संचालन भएको छ । बेनी नगरपालिकाको कार्यालयमा गत मंसिर १४ गते बसेको सरोकारवालाहरुको बैठकको निर्णय बमोजिम पौष १ गते देखि एकतर्फि रुपमा सवारी साधन संचालन गर्ने नियम बिहिबारबाट लागु गरिएको हो ।

अबदेखि क्याप्पसचोक देखि सुरु भई गणेशटोल, संगमचोक, बालमन्दिरचोक, बिरेन्द्रचोक, हुलाकचोक न्यरोड हुँदै क्याम्पसचोकको सडकमा एकतर्फि सवारी संचालन हुने ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र बहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरेन्द्रचोक देखि बालमन्दिर चोक सम्म भने दुइतर्फी नै यातायात संचालन गरिने छ । बेनी बजार क्षेत्रभित्रको सडक साँघुरो भएकाले दुर्घटना न्युनीकरण गर्न, ट्राफिक लाई ब्यबस्थित बनाउन, पैदल यात्रालाई सहज बनाउन र सवारीको जाम हटाउनका लागि पनि एकतर्फि यातायात संचालन लागु गरिएको नेपालीले बताउनुभयो । नयाँ नियम लागु गरिएकाले करिव २ हप्ताको समय ट्राफिक प्रहरी चोक चोकमा बसेर सवारीचालकहरुलाई जानकारी गराउने ब्यबस्था गरिएको उहाँको भनाई छ ।

बेनी बजारको ट्राफिकलाई ब्यबस्थित बनाउनका लागि गत हप्ता बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, प्रहरी नायव उपरिक्षक श्याम कुमार राई, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति धोलकराज ढकाल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, वडा अध्यक्षहरु लगाएतको टोलीले बजारमा घरदैलो गरि घरबाट बाहिर निकालिएको पालि, पसलको होर्डिङ बोर्ड, पसल अघि सडक सम्म राखिएका सामान हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न अनुरोध गरेको बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष एवं बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

बेनी बजारभित्र अनावश्यक रुपमा रहेका टेलीकमका पोलहरु पनि नेपाल टेलिकम म्याग्दीले यसअघि नै हटाइसकेको छ ।

You can share this post!

भीम रावलको प्रश्न– संसदको अवरोध एमसीसी पास गर्ने खेल त होइन ?

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश बिजयी

Related posts