म्याग्दीको दरमा १ महिने भलिबल प्रशिक्षण सुरु

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्वर ३ दरमा १ महिने भलिबल प्रशिक्षण सुरु भएको छ । दरखोला युवा क्लवको आयोजना र जिल्ला भलिबल संघ म्याग्दीको सहकार्यमा सुरु भएको प्रशिक्षणको मंगलबार उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि धवलागिरी गाउँपालिका ३ का वडा सदस्य कमलसिंङ घर्तिले मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँलाई भलिबल हस्तान्तरण गरि प्रशिक्षणको उद्घाटन गर्नुभएको हो ।

करिव २० जना युवा खेलाडीहरु प्रशिक्षणमा सहभागी भएका छन । १ महिना सम्म चल्ने प्रशिक्षणमा अन्तराष्ट्रिय भलिबल महासंघको नीति नियम देखि लिएर आधारभुत ज्ञान सिपहरु सिकाईने छ ।

भलिबलका आधारभूत कुराहरु शारिरीक व्यायाम, फिंगरिङ, डिगिङ, ब्लक, डिफेन्स लगायतका टेक्निकहरु प्रशिक्षणमा सिकाइने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो ।

यसका साथै खेलाडीहरुमा अनुशासन, स्वस्थता, खेलमा हुने विकृति, विसङगति न्युनिकरण तथा खेल प्रति युवाहरुलाई आकर्षित बनाई स्थानीय स्तरबाट जिल्ला तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पु¥याउने उद्देश्य पनि प्रशिक्षणको रहेको बानियाँले बताउनुभयो ।

गाँउमा युवा खेलाडीहरुले प्रशिक्षण र तालिम नपाउदा नीति नियम भन्दा बाहिर गएर खेल सञ्चालन गर्ने तथा खेल्ने र आधिकारिक अफिसियल खेलमा सहभागी हुदाँ नियम अनुसार खेल खेल्न नसक्ने समस्या समेत रहेकोले पनि भलिबल प्रशिक्षण कार्यक्रम आवश्यक रहेको प्रशिक्षक बानियाँले बताउनुभयो ।

खेलकुद र खेलाडीको विकासका लागि प्रशिक्षण कार्यक्रम अनिवार्य बनाउन सवै क्लवहरुलाई अनुरोध गर्दै बानियाँले यसका लागि आवश्यक सहयोग र सहकार्य गर्न स्थानीय वडा तथा पालिकाहरुलाई आव्हान समेत गर्नुभएको छ ।

क्लवमा आवद्ध खेलाडीहरुको खेल क्षमतालाई अभिवृद्धि गर्नका लागि १ महिने भलिबल तालिमको आयोजना गरिएको क्लव अध्यक्ष खगेन्द्र बुढाले बताउनुभयो । उहाँका अनुसार धवलागिरी गाउँपालिका वडा नम्वर ३ को कार्यालय, र स्थानीय आमा समुह तथा टोल सुधार समितिहरुको सहयोगमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता कल्ब अध्यक्ष बुढाले गर्नुभएको थियो । लालिगुँरास आमा समुहकी अध्यक्ष दिलमाया घर्तिले स्वागत गर्नुभएको कार्यक्रमको संचालन क्लवका सचिव सचिव डडिप घर्तिले गर्नुभएको थियो । कार्यक्रमका मुख्य प्रशिक्षक बानियाँलाई क्लव, आमा समुह तथा स्थानीयले भव्य स्वागत समेत गरेका थिए ।

You can share this post!

मिलनमा लैङ्गिक हेल्प डेक्स स्थापना

माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी बरुवालको मृत्यु

Related posts