म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिको २० औँ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्यले लोक संगीतमा उत्पन्न विकृतिलाई नियन्त्रण गर्न प्रतिष्ठानले कदम चालेको बताउनुभयो ।
पछिल्लो समय अश्लील खालका गीतहरु गाउने गायक गायीका तथा त्यसमा संलग्न कलाकारहरुलाई कार्वाही स्वरुप स्पष्टिकरण सोध्ने देखि गीत नै हटाउनका लागि आग्रह गर्ने तथा निश्चित समयका लागि संस्थामा प्रतिवन्ध गर्ने समेतका कार्य गर्दै आईएको उहाँले बताउनुभयो ।
म्याग्दी जिल्ला लोक संगीतको उर्वरभूमि भएको भन्दै संगीतकार समेत रहनुभएका आचार्यले यहाँका यानिमाया, साईलोभाका, शिरफल, सालैजा भाका जस्ता मौलिक गीतहरुको संरक्षणमा ध्यान दिन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय सदस्य अग्रज लोक गायीका धन कुमारी थापाले प्रतिष्ठानले सांस्कृतिक तथा सामाजिक क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवन कुमार विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण जिसी, निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे, सल्लाहकार नेत्र महत, क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाले सचिव विजुन केसीले प्रस्तुत गर्नुभएको प्रगति÷सांगठनिक तथा कोषाध्यक्ष शंकर पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । साधारणसभामा उत्कृष्ट वर्ष पुरुष तथा महिला सदस्य अवार्डबाट कार्य समिति सदस्यहरु विजय परियार र पन्चमाया पुन पुरस्कृत हुनुभएको संस्थाका सचिव विजनु केसीले जानकारी दिनुभयो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव केसीको संचालनमा सम्पन्न भएको थियो । अध्यक्ष जिसीले जिल्लाका अग्रज कलाकारहरुलाई सम्मान र नवप्रतिभाहरुलाई हौसला प्रदान, साँस्कृतिक, तथा सामाजिक कार्यहरुलाई निरन्तरता दिदै संस्थालाई थप मजबुत बनाईने बताउनुभयो । साथै बेनी नगरपालिका वडा नम्वर ६ डम्मरामा लो दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा निर्माण गर्न लागिएको लोक संगीत चौतारी तथा संगीत फुलबारी निर्माण अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो ।