म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेका पुराना चौतारीको संरक्षण कार्यले तिव्रता पाएको छ । बेनी नगरपालिका वडा नम्वर ७ भित्र रहेका पुराना तथा ऐतिहासिक चौतारीहरुलाई मर्मत सम्भार सहित संरक्षणको कार्य गर्न थालिएको हो ।
बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताउनुभयो । पहिलेका चौतारीको महत्व धेरै छ श्रेष्ठले भन्नुभयो, “पुराना सम्पतिलाई विर्सनु हुँदैन भन्ने उद्देश्य राखेर पनि भत्किन लागेका चौतारीको संरक्षण गर्न लागेका हौँ” ।
बेनी नगरपालिकाको वडा नम्बर ७ मा १८ वटा चौतारी र एक वटा पोखरी छन् । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको छ । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक अगाडि र खुल्लामञ्चको तलपट्टी रहेको बरपिपलको चौतारी संरक्षण गर्न थालिएको छ ।
गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनीबजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर बाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।
पीपलको रुखको फेदीमा पूजा गर्न र बत्ती बाल्न सहजहोस् भनेर पाला समेत राखिएको छ । नगरपालिकाको प्रवेशद्वारअघिको चौतारी मर्मत संगै त्यसको अगाडि म्याग्दीका छ वटा स्थानीयतहको पहिचान झल्कने छुट्टाछुट्टै होडिङ बोर्ड राख्न लागिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
होडिङ बोर्डबाट म्याग्दी जिल्लाको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ । सोही ठाउँमा पशुचौपायाले पानीखाने ठाउँ र एउटा सार्वजनिकधारा समेत निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
धर्म र पुण्य प्राप्तीका लागि भन्दै स्थानीय व्यक्तिहरुले बजारका विभिन्न ठाउँमा धेरै बर्ष अगाडि चौतारी बनाएका थिए । चौतारीका सम्वन्धित दातासँग समन्वय गरेर मर्मत थालिएको हो । हिजो चौतारी पोखरीको बेग्लै महत्व हुने गर्दथ्यो ।
गाउँ भरिका मानिसहरु भेला भएर विशेष खालका छलफल र योजनाहरु समेत चौतारीमै बसेर बनाउने गर्दथे भने भरियाहरुको मुख्य विश्राम स्थलको रुपमा पनि चौतारी हुन्थे ।
तर हाल फेरिएको परिवेशमा चौतारीलाई विश्रामस्थल, प्रतीक्षालय र धार्मिकस्थलको रुपमा विकास गराउने योजना अनुसार काम हुन थालेको हो । चौतारीसँगै पूजागर्ने ठाउँ बनाएमा मानिसले फोहोर नगर्ने र सरसफाई कायम गर्न सकिने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।