गुर्जामा भलिबल प्रशिक्षण, खेलप्रति युवाहरुको रुचि बढ्दो छः प्रशिक्षक किसान

म्याग्दी । गण्डकी प्रदेश अन्तर्गतको हिमाली जिल्ला म्याग्दीमा लोकप्रिय खेलको रुपमा परिचित छ भलिबल । यहाँका गाउँबस्तीहरुमा सानाबालबालिका देखि युवा र पौढहरु समेत भलिबल खेल खेल्न र हेर्न रुचाउछन । ग्रामिण भेगहरुमा विभिन्न चाडपर्वहरु तथा अन्य अवसरहरुमा आयोजना हुने मेलाहरुमा पनि मुख्य आकर्षणको रुपमा भलिबल रहने गर्दछ ।

भलिबल खेल सम्वन्धी कुनैपनि औपचारिक तालिम तथा प्रशिक्षणहरु विनानै जिल्लाका दुरदराजमा आफै मेहनत र अभ्यास गरेर खेल्दै आएका खेलाडीहरु पछिल्लो समय भने खेल सम्वन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धिका लागि प्रशिक्षणमा सहभागी हुन थालेका छन ।

हालै मात्र म्याग्दीको धवलागिरि गाउँपालिका –१ गुर्जामा रहेको चुरेन हिमाल युवा क्लवले ९ दिने भलिबल प्रशिक्षण आयोजना गरेको छ । भाद्र २५ गतेदेखि असोज ३ गते सम्म ९ दिनको अवधिमा भलिबलको आधारभूत तालिम दिईएको प्रशिक्षक किसानले बताउनुभयो ।

गुर्जामा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्नका लागि र भलिबल खेलतर्फ युवाहरुको मोह बढाउनका लागि आधारभूत तालिम संचालन गरिएको चुरेन हिमाल युवा क्लवका अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो ।

प्रशिक्षणमा भलिबल खेल संचालन गर्ने पछिल्लो नियम, खेलाडीहरुको अनुशासन, प्रतियोगितात्मक खेल खेल्ने रणनीति, टिम व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिएको छ । त्यस्तै डिगिङ, फिङ्गरिङ, स्पाईक, ब्लक, शारीरिक व्यायाम लगायतको अभ्यास गराईएको प्रशिक्षक किसानले बताउनुभयो । प्रशिक्षणमा विद्यालयका बालबालिका देखि लिएर युवा महिला तथा पुरुष खेलाडीहरु गरि ४६ जनाको सहभागिता रहेको थियो ।

जिल्लाको सवैभन्दा विकट मानिने गुर्जा गाउँमा भलिबल प्रतिको आकर्षण देखेर निकै खुसि लाग्यो, प्रशिक्षक किसानले भन्नुभयो, “त्यहाँ राम्रा सम्भावना भएका खेलाडीहरु पनि नोटिस गरेर आएको छु” । दुर्गम ठाउँमा आएर भलिबल सम्वन्धी ज्ञान सिप सहितको तालिम प्रदान गरिदिएकोमा गुर्जाका जनप्रतिनिधि, क्लव, आमा समुह लगायतले प्रशन्नताका साथ आभार प्रकट गर्दै प्रशिक्षक किसानलाई भव्य सम्मान गर्नुभएको छ ।

म्याग्दी जिल्ला भलिबल प्रशिक्षक तथा क्षेत्रीय रेफ्रि, उत्कृष्ट भलिबल खेलाडी समेत रहनुभएका किसानले युवाहरुलाई कुलतबाट जोगाउन, सत्मार्गमा लाग्न र खेलक्षेत्रमा थप प्रगति गर्नका लागि तालिमले सहयोग पुग्ने बताउनुभयो । साथै मानसिक र शारीरिक रुपमा तन्दुरुष्ट रहनका लागि पनि खेलको आवश्यकता हुने भएकाले युवाहरुलाई खेलप्रति उत्प्ररित गर्न पनि हरेक बस्ती बस्तीमा प्रशिक्षण कार्यक्रम लिएर जान थालिएको बताउनुभयो ।

म्याग्दी जिल्ला भलिबल संघका महासचिव समेत रहनुभएका किसानले भलिबल खेल क्षेत्रका विकास र खेलाडीहरुको पहिचान तथा उन्नतिका लागि संघले पनि विभिन्न योजना बनाउन थालेको बताउनुभयो । प्रशिक्षण पछि गुर्जामा वडा स्तरीय खेलमा सहभागी हुने गरि ९ जना महिला र ९ जना पुरुष खेलाडी छनौट गरिएको किसानले बताउनुभयो ।

विद्यालयका साना बालबालिका पनि भलिबल तालिममा सक्रियताका साथ सहभागि बनेको देख्दा भलिबल खेलको लोकप्रियता प्रति गर्व महसुस भएको प्रशिक्षक किसानको भनाई छ । जिल्लामा रहेर भलिबल खेलमा पूर्ण रुपमा समर्पित किसानले जिल्लामा रहेका क्लव तथा विद्यालयहरुमा खेलाडीहरुलाई प्रशिक्षण दिदै आउनुभएको छ ।

You can share this post!

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता उद्घाटन

रुममा विद्यार्थी र शिक्षकलाई भित्ते पत्रिका लेखन तालिम प्रदान

Related posts