काठमाडौं । आमनिर्वाचन २०७९ को प्रारम्भिक मतपरिणामहरु धमाधम आइरहेका छन् । अहिलेसम्म प्राप्त परिणाम प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निम्ति त्यति सुखद छैन ।
एक्लै बहुमत ल्याउने दाबी गर्दै एमाले चुनावमा होमिएको थियो । यद्यपि, सो पार्टीले केही स्थानमा राप्रपा लगायतका दलहरूसँग तालमेल गरेको छ । मतगणना प्रारम्भिक अवस्थामै रहे पनि एमालेका धेरै नेताहरु झस्किएका छन् । अधिकांश पदाधिकारीहरु प्रतिस्पर्धामा पछाडि परिरहेका छन् ।
एमाले सचिव योगेश भट्टराई भने सुरुवाती मतगणनाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । एमालेका अधिकांश पदाधिकारीले चुनाव जित्ने आशा उनले व्यक्त गरे ।
भट्टराईले भने, ‘अहिले एकदमै सुरुवाती अवस्था भएकाले यस्तै हुन्छ भनेर निस्कर्ष निकाल्न मिल्दैन । देशका मुख्य शक्ति भनेका कांग्रेस एमाले नै हुन् । उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुन्छ ।’
उनले अहिले पछि परेका एमालेका वरिष्ठ उपाध्यक्ष शंकर पोखरेल, उपाध्यक्ष सुभाष नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायतका प्रमुख नेताहरुले अन्ततः चुनाव जित्ने भविष्यवाणी गरे ।
‘मतगणना कुन ठाउँबाट सुरु गरिएको छ भन्ने महत्वपूर्ण कुरा हो । सुरुमा पछि पर्दैमा चुनाव हार्छ भन्न मिल्दैन । मलाई विश्वास छ उहाँहरु सबैल चुनाव जित्नुहुनेछ ।’
यद्यपि, जनताले एमाले र कांग्रेसलाई चेक एन्ड ब्यालेन्स गर्ने नयाँ फोर्स खोजेकोमा भट्टराई सहमत छन् । ‘मुख्य दल भनेका एमाले र कांग्रेस नै हुन् । एमाले र कांग्रेसको जनाधार भत्किँदैन, त्यो कायमै हुन्छ । तेस्रो शक्तिमा चाहिँ नयाँ विकल्प खोजेको जस्तो देखिन्छ ।’ नेपाल प्रेस