अन्नपूर्णको औल र रघुगंगाको बाँदुकमा एमालेको चुनावी सभा

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनलक्षित घरदैलो तथा चुनावी सभालाई तीव्रता दिएको छ । यसै सिलसिलामा आइतबार हिस्तानको रिम र सोमबार हिस्तानको औलमा चुनावी सभा सम्पन्न गरेको छ ।

चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य खड्ग गिरीले जसको नीति उसैको नेतृत्व स्थापित गर्नका लागि एमालेले जित्नुपर्ने बताउनुभयो । गाउँपालिकाका उम्मेदवारहरु चयन किन गरियो भन्ने सन्दर्भमा बोल्दै गिरीले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरु बौद्धिक व्यक्तित्व नै छनौट गरिएको बताउँदै अध्यक्ष तथा उपाध्यक्ष दुवैजना स्नातकोत्तर तह उत्तीर्ण गरेका बौद्धिक व्यक्तित्वलाई जनताको माझमा ल्याएको बताउनुभयो ।

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार गर्बुजाले नेकपा एमालेले जनताको पक्षमा काम गर्न सक्ने व्यक्तिलाई नै जनताको माझमा ल्याएको बताउनुभएको छ । उहाँले शैक्षिक व्यक्तित्व भरत पुन र सामाजिक क्षेत्रमा लामो समय क्रियाशील दिवा पुनलाई अन्नपूर्ण गाउँपालिकाको सामाजिक एवं शैक्षिक क्षेत्रको सम्मेत उत्थान र विकासमा उत्कृष्ट योगदान दिनका लागि नै आगाडि सारिएकोले उनीहरुलाई जनताले मत दिएर जिताउनुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष दिलप्रसाद फगामीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षका उम्मेदवार मईलन पुन, दलित महिला सदस्य उम्मेदवार जमुना पौडेलले मन्तव्य राखेका थिए । सिवानीसिं ल्वागुनको सञ्चालनमा हिस्तानको रिम र औलको कार्यक्रम सम्पन्न भएको थियो ।

बेगखोलाको बाँदुकमा एमाले रघुगंगाको कार्यक्रम
नेकपा एमालेले रघुगंगा गाउँपालिका–१, बेगखोलाको बाँदुकमा चुनावी सभा सम्पन्न गरेको छ । रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमबहादुर कार्कीसहितको टोलीले घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको हो ।

बाँदुकमा भएको कार्यक्रममा अध्यक्ष कार्कीले जनताको मतसँगै मनको पनि सम्मान गर्ने पार्टी एमाले भएकोले जनताले मत दिनुपर्ने बताउनुभयो । अध्यक्ष कार्कीले डर, धाक, त्रास नभएर स्वतस्फूर्त रुपमा मतदान गर्ने वातावरण हुने र त्यसमा जनताले स्वतः स्वविवेक प्रयोग गरेर एमालेलाई मत दिनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । कार्कीले आफू सबल र समृद्ध गाउँपालिका निर्माणको अभियानमा रहेको बताउँदै सधैँ भ्रष्टाचार अनि अनियमितताको विरुद्धमा रहँदै आएको र त्यसमा सदा कटिबद्ध रहने बताउनुभयो ।


उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजाले महिलाहरु सधैँ संख्या पु¥याउनका लागि मात्रै नभएर नेतृत्व लिन पनि सक्षम भएकोले समान सहभागिताका लागि प्रयास गर्ने बताउनुभयो । मानव अधिकारको रक्षा साथै आत्मसम्मानसहित बाँच्ने वातावरण तयार गर्नु स्थानीय तहको मुख्य ध्येय हुनुपर्ने उहाँको भनाइ छ ।

वडानम्बर १ का अध्यक्षका उम्मेदवार धनबहादुर गर्बुजा, महिला सदस्य प्रेममाया पाईजा लगायतले सभामा मन्तव्य राखेका थिए । वडा कमिटी उपाध्यक्ष चुकबहादुर शेरपुञ्जाले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन कमिटीका संयोजक एवं रघुगंगा गाउँपालिका कमिटीका सचिव झलक शर्माले गर्नुभएको थियो ।

You can share this post!

मतदाता भेट्न एमालेका उम्मेदवार दुखुमा

एमाले बेनि नगरपालिका १० को घरदैलो अभियान तिब्र

Related posts