म्याग्दी । बेनी नगरपालिकाले कुल बजेटको ८२ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले २०७८÷०७९ को कुल ७६ करोड ५४ लाख ३५ हजार रुपैयाँ बजेटमध्ये ६२ करोड ८५ लाख ४६ हजार रुपैया (८२.१२ प्रतिशत ) बजेट खर्च भएको बताउनुभयो ।
बेनी नगरको पुँजीगततर्फ रहेको २७ करोड ९१ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ९७ लाख ५४ हजार रुपैयाँ बजेट ( ७१.५५) खर्च भएको हो ।
विकासतर्फ रहेको बजेटमध्ये ७ करोड ९४ लाख २५ हजार रुपैया राज्यकोषमा फिर्ता भएको छ । चालु आवमा छनौट भएका ४७० योजना तथा कार्यक्रममध्ये ४२० योजना सम्झौता भएका छन् भने ४१८ योजना सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी गराउनुभयो ।
चालु आवमा आर्थिक विकासतर्फ ४ करोड ६३ हजार रपैयाँ बजेटमध्ये ३ करोड ११ लाख ५५ हजार रुपैया, सामाजिक विकासतर्फ ३६ करोड ८६ लाख ९८ हजार रुपैयाँ बजेटमध्ये ३२ करोड ८४ लाख ९६ हजार रुपैया, पुर्वाधार विकासतर्फ १६ करोड ६३ लाख रुपैयाँ बजेटमध्ये ११ करोड ८६ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै सुशासन तथा अन्तर सम्बन्धिततर्फ ३ करोड ११ लाख १९ हजार रुपैयाँ बजेटमध्ये २ करोड १९ लाख ५५ हजार रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्चतर्फ १५ करोड ८४ लाख २४ हजार रुपैयाँबजेट मध्ये १२ करोड ८२ लाख ५४ हजार रपैयाँ बजेट खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ । नगरभित्र गौरवको आयोजनाको रुपमा रहेको रावण पार्क र खुल्ला मञ्च विस्तार तथा प्याराफिट निर्माण योजना निर्माधिन अवस्थामा रहेका छन् ।
सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले विकासतर्फका योजनाहरुबारे जनताले बुझिने गरि योजना संचालित क्षेत्रमा बोर्ड बनाएर टास्नुपर्ने, बजारको ब्यवसायलाई असर नपर्ने एकतर्फी यातायातको नियम बदल्नुपर्ने, सार्वजनिक स्थानको फोहोर ब्यवस्थापन तथा सरसफाईमा कुचिकार खटाउनुपर्ने, अतिक्रमित सार्वजनिक जग्गामा निर्माणधिन पुर्वाधार तथा ब्यवसाय हटाउनुपर्ने, कृषि तथा उत्पादन क्षेत्रमा कृषिमैत्री अनुदानको व्यवस्था गर्न माग गरेका थिए ।
त्यस्तै बेनीबजारमा पर्यटकको बसाई लम्ब्याउने पुर्वाधार तथा कालीगण्डकी नदीमा सुरक्षित ¥यापटिङ गर्ने ब्यवस्था मिलाउनतर्फ पनि स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका छन ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले जनताको आधारभूत आवश्यकतामा पर्ने सडक, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको पुर्वाधार विकासलाई दिगोपन र ब्यवहारिक बनाउन केन्द्रित भएको बताउनुभयो । मेयर केसीले बेनीमा पर्यटकको बसाई लम्व्याउने किसिमले पर्यटन पुर्वाधार निर्माण गुरुयोजना र जनयुद्धको पोल लिएर बजार वरिपरि पार्क र पदमार्ग लगायतको पुर्वाधार निर्माण योजना अघि बढाएको उल्लेख गर्नुभयो ।
उपमेयर ज्योती लामिछानेले नगरभित्रका विकास योजनालाई प्रभावकारी रुपमा सम्पन्न गराउन अनुगमनलाई प्राथमिकता दिईएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बेनीबजारमा संचालन गरिएको एकतर्फी यातायात सेवाले दुर्घटना कमसंगै पैदलयात्रीलाई पनि सहज भएकोले यसलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत ढकालले बेनी नगरपालिकाले आवश्यक कानुनहरु निर्माण गरेर सेवा प्रवाहलाई सरल, छिटो छरितो र प्रभावकारी बनाउने योजनाका साथ नगरपालिका अगाडि बढेको बताउनुभयो । उहाँले जनताबाट उठेका गुनासो तथा सुझाव अनुसार आगामी दिनमा सुधार गरेर सेवा प्रवाह तथा विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । नगर प्रमुख केसीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार महासंघ म्याग्दी शाखाले गरेको थियो ।