जिल्ला भलिबल संघद्वारा राष्ट्रिय खेलाडी सम्राट भण्डारी सम्मानित

म्याग्दी । अन्डर २३ राष्ट्रिय भलिबल टिमका सदस्य म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ३ निवासी सम्राट भण्डारी सम्मानित हुनुभएको छ ।
म्याग्दी जिल्ला भलिबल संघले विहिबार संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रतिभावान राष्ट्रिय खेलाडी भण्डारीलाई सम्मान पत्र सहित सम्मान गरेको हो ।

भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमितिका पूर्व महासचिव समाजसेवी विक्रम कार्की र संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्मान पत्र प्रदान गर्नुभएको हो ।

भण्डारीले सन २०२२ मा बंगलादेश भलिबल फेडेरेसनको आयोजनामा ढाकामा आयोजना भएको बङ्गाबन्दु एसियन यु–२३ सेन्टर एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो ।

अन्तराष्ट्रि स्तरको भलिबल खेलमा राष्ट्रिय टिमबाट सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी भण्डारीलाई खेल क्षेत्रमा उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

कार्यक्रमको अवसरमा बेनी नगरपालिका ९ घर भई हाल पूर्व भलिबल खेलाडी हाल अष्ट्रेलियामा कार्यरत पूर्व भलिबल खेलाडी विमल चोखाललाई पनि कार्यालयमा स्वागत सहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्कीले भलिबल खेल क्षेत्रको विकासका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । ‘खेलकुदले खेलाडिको व्यक्त्तित्व विकासका साथै व्यवहारिक जीवनमा समेत परिवर्तन ल्याउन सक्दछ’, कार्कीले भन्नुभयो, “खेलाडिको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारले पनि चासो दिन आवश्यक छ” ।

साथै उहाँले जिल्ला भलिबल संघलाई निशुल्क रुपमा भलिबल तालिम संचालन गर्न समेत अनुरोध गर्नुभएको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापनका लागि विश्वभर छरिएर रहेका म्याग्देलीहरुसंग हातेमालो गर्ने वातावारण सृजना गर्न आफु तत्पर रहेको समेत कार्कीको भनाई थियो ।

कार्यक्रमका राष्ट्रिय खेलाडि भण्डारीले सम्मानका लागि जिल्ला भलिबल संघलाई धन्यवाद ज्ञापन गर्दै यो सम्मानले खेल क्षेत्रमा थप हौसला प्राप्त भएको बताउनुभयो । भण्डारीले जिल्लाका खेलाडिहरुलाई अनुशासन र मेहनतका साथ खेल क्षेत्रमा लाग्न समेत आव्हान गर्नुभएको छ ।

संघका अध्यक्ष बानियाँले राष्ट्रिय खेल भलिबलको माध्यमबाट जिल्ला भरिका दाजुभाई तथा दिदीवहिनीहरुमा खेल भावनाको विकास गर्ने, र मित्रताको सुमधुर सम्वन्ध स्थापित गर्ने लक्ष्यका साथ गतिविधि संचालन गर्दै आएको बताउनुभयो । ‘हामी संसारभर रहेका म्याग्देली तथा अन्य भलिबल खेललाई माया गर्ने नेपालीहरुसंग सहकार्य तथा सहयात्रा गर्ने अभियानमा छौँ’, अध्यक्ष बानियाँले भन्नुभयो ।

अध्यक्ष बानियाँले जिल्लाको प्रतिनिधित्व गर्दै खेल खेल्न छनौट भएका खेलाडिहरुलाई थप प्रशिक्षण र तालिम प्रदान गरि उत्कृष्ट खेल प्रदर्शन गराउने गरि भावि योजना तयार गरिएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रम जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, कोषाध्यक्ष विष्णु रोकाको स्वागत र महासचिव कुमार किसानको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

You can share this post!

महिला तथा बालबालिका शाखा प्रमुखहरुलाई क्षमता विकास तालिम

प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

Related posts