म्याग्दी । जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगंगा र मगंला गाउँपालिकामा असिनाले गहुँ, जौँ, केराउ, आलु तथा मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।
रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, गौँस्वारा, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौर लगायतका ठाउँहरुमा हावाहुरीसहितको असिना परेको थियो ।
भित्र्याउने गर्ने बेला भएको गहुँ, केराउ, भर्खरै उम्रिएको मकै , सिमि र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगंगा–३ मौवाफाँटका तुलबहादुर खत्रीले जानकारी दिनुभयो । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ बाली भित्र्याउने चटारो छ ।
त्यस्तै बेनी नगरपालिका २ गौँस्वाराका कृषक हर्क खड्काले असिनाले खेतबारीमा लगाएको सवै बालीमा क्षति पु¥याएको बताउनुभयो । गहुँ, केराउ, लगायत तरकारीबाली पनि पूर्ण रुपमा नष्ट भएको उहाँले बताउनुभयो ।
शनिबार दिउँसो हावाहुरीसँगै ठुलो असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मङ्गला–३ बरङ्जाका कृष्णलाल सापकोटाले बताउनुभयो ।
क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।