म्याग्दी । पोखरा स्पोर्टस अवार्ड २०७८ मा वर्ष गण्डकी उत्कृष्ट महिला खेलाडिमा अरुणा शाही घोषित हुनुभएको छ । पोखरामा शनिवार सम्पन्न अवार्डमा महिलातर्फ नेपाली महिला भलिबल टिमकी टिम कप्तान समेत रहेकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी घोषित हुनुभएको हो ।
उहाँले आफ्ना दुई प्रतिष्पर्धी क्रिकेटकी मनिषा उपाध्यय र करातेकी सरगम कुमाललाई पछि पार्दै उत्कृष्ट खेलाडीको उपाधी जित्नु भएको हो । शाहीले अवार्ड संगै २ लाख १० हजार पर्ने इलेक्ट्रिकल स्कुटर पुरस्कार प्राप्त गर्नुभएको छ । शाही दोस्रो स्पोर्टस अवार्डकी समेत उत्कृष्ट खेलाडी हुनुहुन्छ ।
उहाँको यो उपाधि दोस्रो हो । दुई पटक सम्म स्पोर्टस अवार्ड हात पार्ने उहाँ पहिलो खेलाडी समेत बन्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ स्थायी घर भएकी शाही भलिबल खेलको चम्किलो ताराको रुपमा उदाउनुभएको छ । उहाँको कप्तानीमा रहेको नेपाली महिला भलिबलको राष्ट्रिय टिमले विभिन्न अन्तराष्ट्रिय खेलहरुमा नेपाललाई पदक दिलाउन सफल भएको छ ।
म्याग्दीले चलि अरुणाले बर्षको उत्कृष्ट महिला खेलाडि छनौट भई पोखरा स्पोर्टस अर्वाड प्राप्त गरकोमा यो समग्र जिल्लाको खुसि भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । भलिबल खेलक्षेत्र बाट आफु जन्मेको जिल्लालाई मात्र होइन राष्ट्रलाई नै चिनाउन सफल अरुणाको खेलप्रतिको योगदानलाई राष्ट्रले नै सम्मान गर्न आवश्यक हुने बानियाँको भनाई छ ।
त्यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीको अर्वाड टेनिसका प्रदिप खड्का र उदयमान खेलाडीको अवार्ड टेनिसकै दर्शिल श्रेष्ठले हात पार्नुभएको छ । वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड टेनिसका निरज थापा र वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड–दिपक परियारले प्राप्त गर्नुभएको छ ।
यस संगै उक्त कार्यक्रममा नेपालको बक्सिङ खेलमा लामो योगदान दिएका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ । उत्कृष्ट खेल संघको रुपमा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश घोषित पुरस्कृत भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको छैटौं पोखरा स्पोर्टस अवार्डमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली लगायतले अवार्ड तथा नगद वितरण गर्नुभएको थियो ।