ग्रामीण नमुना कृषकलाई पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका नमुना कृषकहरुलाई लक्षित गरी बेनीमा सञ्चालित पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । युएसएआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमद्वारा पुनर्ताजगी तालिम तथा स्थलगत भ्रमणको आयोजना गरिएको हो ।

पुनर्ताजगी तालिममा ग्रामीण नमुना कृषक र स्थानीय स्रोतव्यक्तिहरुको अनुभव आदानप्रदान, व्यवसाय सञ्चालनको अवस्था, घरायसी खाद्यान्न उत्पादन, कृषिमा प्रविधिको प्रयोग, स्थानीय तह र अन्य परियोजनाका स्रोतव्यक्तिहरुसँग अन्तरक्रिया, घरायसी कुखुरापालन र पोषणमा अण्डाको महत्व, उत्पादनको बजारीकरण, सामाजिक सञ्जालमार्फत अनुभव आदानप्रदानलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका लेखापाल त्रिबिक्रम शर्मा, सुआहारा कार्यक्रमका बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत युधिष्ठिर शर्मा, स्वास्थ्य तथा पोषण अधिकृत रामचन्द्र पन्थी र सुआहाराको म्याग्दी फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो ।

सुनौलो हजार दिनका आमाहरुलाई सहयोग पु¥याउने उद्देश्यले यसअघि सुआहारा कार्यक्रमबाट कुखुरापालन र तरकारी उत्पादनको तालिम लिएका ग्रामीण नमुना कृषक एवं स्रोतव्यक्तिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुनर्ताजगी तालिम सञ्चालन गरिएको थियो । तालिमका सहभागीहरुलाई  बिहीबार दिनभरी सैद्धान्तिक विषयमा सहजीकरण गरिएकोमा आज (शुक्रवार) बेनी नगरपालिका–४, सिङ्गामा रहेको हरियाली ग्रुपको कृषि फार्ममा पुगेर स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।

यसअघि तालिमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मिलन म्याग्दीका अध्यक्ष कमला थापाले तालिमपश्चात् आफ्नो कृषि व्यवसायलाई थप वृद्धि गरी आत्मनिर्भर बन्न सहभागीलाई सुझाव दिनुभयो । सुआहारा बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले पोषणको अवस्था सुधार गर्नका लागि कृषिका विविध आयामहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । सुआहाराको घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत युधिष्ठिर शर्माले उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सुआहाराको फिल्ड संयोजक बालकुमारी पुनले गर्नुभएको थियो ।

स्थलगत अवलोकनका क्रममा हरियाली ग्रुपको ब्लक ‘ए’ र ब्लक ‘बी’ अन्तर्गत रहेको माछापालन, बाख्रा, कुखुरा तथा कालीजपालन, घाँसखेती, गोलभेँडा तथा ताजा तरकारी खेती, ड्रागन फलफुललगायत कृषि र पशुपालनको अवलोकनसहित जानकारी लिइएको थियो । कार्यक्रममा हरियाली ग्रुपको म्याग्दी फिल्ड म्यानेजर मोहन उपाध्याय र भेटेरिनरीतर्फका नायव प्रबन्धक रामकृष्ण तिमिल्सीनाले हरियाली ग्रुपको कृषि खेती र पेशा तथा व्यवसायको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

You can share this post!

बेनी नगरभित्र नसर्ने रोगको निःशुल्क परिक्षण शिविर हुने

लायन्स क्लबद्वारा म्याग्दी बालगृहलाई शैक्षिक तथा खाद्यान्न सहयोग

Related posts