म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ बुल गाउँबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वुल गाउँकी अन्दाजी ३८÷३९ बर्षिय टिका विश्वकर्मालाई सुत्केरी पस्चात जटिल समस्या देखिएपछि तत्काल उपचारका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।
उहाँको हाल गण्डकी अस्पतालमा उपचार भईरहेको छ । स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको जानकारी प्राप्त भएको छ । शनिबार साँझ बुल स्थित घरमै सुत्केरी भई बिश्वकर्माले छोरी जन्माउनुभएको थियो । आइतवार बिहान एक्कासी बिरामी हुनुभएका बिश्वकर्माको स्वास्थ्य अवस्था बुझ्नका लागि मराङ स्वास्थ्य चौकीका अनमी दाल कुमारी गर्वुजाको टिम त्यहाँ पुग्नुभएको थियो ।
सुत्केरी पछि खतराको लक्षण देखा परेपछि विश्वकर्मालाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत पोखरा रिफर गरिएको मराङ स्वास्थ्य चौकीका प्रमुख अहेव मोहन गर्वुजाले जानकारी दिनुभयो । सुत्केरीको ज्यान जोखिममा रहेको अवस्था जानकारी आएलगत्तै निर्वतमान वडा अध्यक्ष राजाराम सुवेदी तथा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले तत्काल उद्धारको व्यवस्थापन गर्नुभएको थियो ।
दुरदराजमा रहेका सुत्केरी महिला तथा शिशुहरुमा खतराका लक्षण दखिदा साथ तत्काल अस्पताल पु¥याउने उद्देश्य अनुरुप गण्डकी प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री नरदेवि पुनले ल्याउनुभएको एयर लिफ्ट कार्यक्रम गण्डकी प्रदेशमा प्रभावकारी देखिएको छ ।
विभिन्न जिल्लाका ग्रामिण बस्तीहरुमा रहेका सुत्केरी महिला तथा नबजात शिशुहरुलाई अकालमै ज्यान जानबाट जोगाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका निभाएको छ । एमाले सरकारले संचालन गरेको यो कार्यक्रमले म्याग्दी जिल्लाका धेरै सुत्केरी महिलालाई तत्काल अस्पताल पु¥याई सफल उपचार गर्न सहज भएको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
सडक सुविधा नपुगेको तथा पुगेपनि अस्पतालको पहुँचबाट टाढा रहेका विकट वस्तीहरुमा सुत्केरी महिला तथा शिशुहरुको स्वास्थ्यमा जटिल समस्या आईपर्दा तत्काल अस्पताल लैजान कठिन भएको छ । समयमै उपचार नहुँदा आमा र बच्चा दुवैको ज्यान समेत जान सक्ने खतरालाई मध्यनजर गर्दै तत्कालिन सामाजिक विकास मन्त्री पुनले ‘एयर लिफ्ट’ कार्यक्रमको अवधारणा ल्याई लागु गर्नुभएको थियो । हालको प्रदेश सरकारले पनि यस कार्यक्रमलाई निरन्तरता दिएको छ ।