बेनी । बागलुङको तमानखोला गाउँपालिका वडा नं ४ लाम्मेलाबाट म्याग्दीको दरबाङ तर्फ आउँदै गरेको निजी बोलेरो जिप मालिका गाउँपालिका ४ ओखरबोटमा दुर्घटना भएको छ ।
ध १ च १९५ नम्बरको बोलेरो जिप मंगलबार दिउँसो करिव २ बजेको समयमा ओखरबोट स्थित ढोरढोरे खोल्सामा ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा तमान खोला गाउँपालिका–४ की ७२ बर्षिया पोपसरा बुढा मगर ,१३ बर्षिय हेलिस बुढा मगर ,२० बर्षिय मिलन बुढा मगर र ४२ बर्षिया टकसरा बुढा मगर रहेका छन् ।
घाइते चारै जनालाई थप उपचारका लागि प्रभु हेलीकप्टरबाट काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको छ । मालिका ४ का वडा अध्यक्ष दिलिप कुमार शेरचनको पहलमा तत्कालै हेलिकप्टर बोलाइएको थियो ।
बोलेरो जिप सडकमा ब्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोकिन पुगेको थियो । स्थानीयका अनुसार जिपमा चालक सहित ७ जना सवार थिए। अन्यको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।