म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य एवँ पूर्व सामाजिक विकास मन्त्री नरदेवि पुनले महिलाहरु शिक्षा आर्जन र आर्थिक समृद्धि हाँसिलका लागि अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
मंगलबार ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा पुनले सवै महिलाहरुले अनिवार्य उच्च शिक्षा हाँसिल गर्दै कुनै न कुनै पेशा तथा व्यवसायमा जोडिन आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले महिलाहरु वुद्धि, विवेक र क्षमताले मात्र नेतृत्व तहमा पुग्न नसक्ने भन्दै अर्थ उपार्जन तर्फ पनि ध्यान दिन अनुरोध गर्नुभयो । राज्यको तह र तप्कामा महिलाको समान सहभागीता हुन आवश्यक रहेको भन्दै पुनले आसन्न स्थानीय तहको निर्वाचनमा पालिका उपप्रमुखको भूमिका मात्र नभई प्रमुखकै भूमिकामा पनि महिलालाई अगाडि सार्नका लागि सवै राजनैतिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।
पूर्व मन्त्री पुनले वालविवाहले शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भन्दै विवाह वारी विस बर्ष पारी भन्ने नारालाई व्यवहारमा लागु गर्न सवै अभिभावकहरुलाई अनुरोध गर्नुभयो । उहाँले आफु गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुँदा लैँगिक हिंसामा परेका महिलाहरुलाई अल्पकालिन पुनस्थापना केन्द्र प्रदेशको ८ जिल्लामा स्थापना गरिएको बताउनुभयो ।
दुर्गम क्षेत्रमा जोखिममा रहेका गर्भवति महिलालाई हेलिकप्टरबाट उद्धार गरि आमा र शिशुको ज्यान बचाउने कार्यको सुरुवात गरेको भन्दै पुनले आफ्नो कार्यकालमा ४८ जना गर्भवति महिलाको उद्धार गरिएको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ म्याग्दी र जिल्ला समन्वय समितिको समन्वय तथा बेनी नगरपालिकाको आयोजनामा सम्पन्न भएको समारोहमा आमा समूहका प्रतिनिधि, सहकारी, संघ÷संस्था तथा कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख लगाएतका सरोकारवाला व्यक्तिहरुले महिलाहरु घरमा जति जिम्मेवारीमा हुन्छन, समाजमा पनि त्यतिनै जिम्मेवारीमा रहने हुँदा हक अधिकार संरक्षण र वकालत गर्नका लागि सक्षम हुनुपर्ने बिचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा उज्यालो वैकल्पिक बिद्यालयबाट २०७७ सालमा एसईई पास गर्ने नौ जना आमा तथा दिदिवहिनीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको उदघाटन पूर्व बेनी नगरपालिका, जिल्लाका अन्य संघ÷संस्था तथा बिद्यालय समेतको सहभागीतामा नौमति बाजा सहित बेनी बजारमा प्रभातफेरी गरिएको थियो ।
कार्यक्रम बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको अध्यक्षता, बेनी नगरपालिका महिला विकास शाखाका सहायक महिला विकास निरिक्षक तुलसी पाईजाको स्वागत र महिला बिकास निरिक्षक डमसरा पनुको संचालनमा सम्पन्न भएको थियो ।