म्याग्दी । म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा मालिका ५ गरजडा निवासी अन्दाजी २६ बर्षिय म बहादुर वोहोराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सोही आगलागिमा परी मृतक वोहोराको भाई २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते भएका छन् । सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् ।
जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि निभाउने क्रममा जलेर वोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक वोहोराको भाईको स्वास्थ्य अवस्था पनि गम्भिर रहेको छ । मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय दरबाङमा खटिएको प्रहरी टोली ,स्थानीयबासी ,युवा क्लब ,लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि घाइते वोहोरालाई थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा लगिएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।
दरबाङ बजारबासी ,लायन्स क्लब ,दरबाङ विपद् व्यवस्थापन समिति ,जनप्रतिनिधी ,संघ संस्था र स्थानीयबासीको सहयोगमा प्रभु हेलीकप्टर मार्फत पोखरा स्थित जिएमसी अस्पताल लगिएको उहाँले बताउनुभयो ।