हृदयविदारक घटना दागबत्ती दिने समेत कोहि भएन

स्याङ्जाको वालिङमा पहिरोले पुरीएर एकै परीवारका ९ जनाले ज्यान गुमाए पछि दागबत्ती दिने सम्म कोही पनि भएनन् । परिवारका सबै सदस्य पहिरोमा परे पछि विहीवार साँझ दाहसंस्कार गरीगएको थियो । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।
नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिनुभयो ।
“पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह«ौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भन्नुभयो । एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटनामा घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

You can share this post!

आफन्तकोमा बसेर फर्किएको परिवारमध्ये सानीको परिवारका १ जनाबाहेक सबैलाई पहिरोले यो साल पनि कट्न दिएन

जन्मदिनको अवसरमा नेवीसंघ नेता पौडेलद्वरा कापीकलम वितरण

Related posts