हेर्दै आकर्षक अर्गानिक रेष्टुरेन्ट, जहाँ म्याग्दीका हस्तीहरुको तस्विर कोरिएको छ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ८ गणेशटोल स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवनको तल्लो तलामा केही दिनयता निकै चहलपहल देखिन थालेको छ । मान्छेहरु पुग्छन, अवलोकन गर्छन, केहि चिज खान्छन अनि फर्किन्छन । त्यहाँ पुग्ने जोकोहीलाई पनि आनन्दको अनुभूति दिलाउने र बसौं बसौँ लाग्ने बनाएको छ, भित्तामा कोरिएका आकर्षक तस्विरहरुले ।

म्याग्दीको रघुगंगा गाउँपालिका –३ रानीपौवाका युवा जीवन कार्की अथकले हालै संचालनमा ल्याउनुभएको ऐश्वर्य अर्गानिक रेष्टुरेन्ट एण्ड रमाईलो घरमा ग्राहकहरुको आकर्षण र चहलपहल सुरु हुन लागेको हो ।

गाउँका लोकल अर्गानिक खाजा तथा खानाका परिकारहरु उपलब्ध गराउने उद्देश्यले संचालनमा ल्याउनुभएको उक्त रेष्टुरेन्टको यहि असोज १० गते सोमवारदेखि औपचारिक रुपमा उद्घाटन हुँदै छ । हाल व्यवस्थापनको अन्तिम चरणमा पुगेको रेष्टुरेन्टका भित्तामा कोरिएका म्याग्दीका विभिन्न क्षेत्रका हस्तीहरुको कलात्मक तस्विरले भने मान्छेहरुलाई लोभ्याईरहेको छ ।

रेष्टुरेन्टको भित्तामा प्रसिद्ध म्यागासेसे पुरस्कार विजेता महाविर पुन, विश्वका १४ वटा हिमाल चढेर विश्व किर्तीमान बनाउनुभएका आरोही निर्मल पूर्जा, वरिष्ठ गायक खड्क गर्बुजा, संगीतकार दिपक शर्मा, राष्ट्रिय महिला भलिबलका कप्तान अरुणा शाही, चर्चित लोक दोहोरी गायक प्रकाश दुतराज, मोडल सुधिर श्रेष्ठ र चर्चित मोटो भ्लगर विविध जंग थापा ( एमआरवी ) को तस्विर कोरिएको छ भने सधैँ आशिर्वाद लिन र सम्मानका लागि आफ्नो मातापिताको समेत तस्विर कोरिएको कार्कीले बताउनुभयो । यी सवै तस्विर बेनी नगरपालिका –४ सिंगाका अशोक किसानले बनाउनुभएको हो । सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने स्टेजमा भने कार्की आफैको तस्विर बनाईएको छ ।

जिल्लाको पहिचान बनाउन सफल व्यक्तिहरुको सम्मानमा उहाँहरुबाट अनुमति लिएर तस्विर बनाईएको काकीले बताउनुभयो । यस कार्यबाट रेष्टुरेन्टमा आउने अरु व्यक्तिहरुलाई सत्मार्गमा हिड्न र असल काम गरेर जिल्लाको नाम राख्न मार्गदर्शन र हौसला मिल्ने उहाँको भनाई छ ।

ग्राहकहरुको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै व्यक्तिहरुको स्वास्थ्य प्रति ध्यान पु¥याउँदै गाउँमा उत्पादन भएका चिजविजहरु नै खाजा र खानाको रुपमा प्रयोग गरिने रेष्टुरेन्टका संचालक कार्कीले बताउनुभयो । ‘मकै भट्ट मोही, लोकल घिउमा हालेर बनाईएको कोदो, गहुँ, जौँ, फापरको रोटी खाजाको रुपमा बनाउँछौ, खानामा पनि सवै लोकल आइटम नै हुन्छ, गुन्द्रक, सिन्की, सिस्नो, ढिडो ग्राहका इच्छा अनुसार तयार गछौँ’ संचालक कार्कीले भन्नुभयो ।

ग्राहकै इच्छा अनुसार फास्ट फुडको समेत व्यवस्था पनि रहेको छ । स्वादिष्ट म.म, चाउमिन लगायतका परिकारहरु पनि तयार हुन्छ । तुरन्तै सेवा दिने गरि होम डेलिभरीको समेत व्यवस्था गरिएको छ । करिव २५ लाखको लगानीमा तयार गरिएको रेष्टुरेन्टमा साँझको समयमा सांगीतिक रुपमा मनोरञ्जन प्रदान गरिने व्यवस्था समेत रहेको छ । विशेष गरि नेपाली मेलोडियस गीत संगीत प्रस्तुत गछौँ, कार्कीले भन्नुभयो, “म आफै पनि गायक भएकाले संगीतलाई जोडेको हुँ” । कार्की म्याग्दी लोकतारा सिजन २ का उपविजेता हुनुहुन्छ भने उकाली चढ्ने, नजानुस मेरो हजुर लगायतका गीतहरु बजारमा ल्याउनुभएको छ ।

अर्गानिक रेष्टुरेन्ट संगै कार्कीले ऐश्वर्य टेलरिङ एण्ड बुटिक पनि संचालनमा ल्याउनुभएको छ । लेडिज तथा जेन्सका सम्पूर्ण आइटमहरु आकर्षक र गुणस्तरीय सिलाई गर्ने गरि सोही ठाउँमा संचालनमा ल्याईएको टेलरिङको व्यवस्थापन भने कार्कीकी श्रीमति सनम जिसी कार्कीले गर्नुभएको छ । सोमबारदेखि करिव एक महिना सम्म संचालन हुने ओपनिङ विशेषमा उपस्थित भैदिन संचालक कार्कीले सम्पूर्णमा अनुरोध समेत गर्नुभएको छ ।

You can share this post!

अन्तर सहकारी बिचको एकता र सहकार्यमा जोड

नवौँ राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा तयारी सुरुः अफिसियल सहित ६१७ खेलाडी बेनी आउने

Related posts