म्याग्दी । बेनी नगरपालिकाद्वारा ४ नम्बर वडा सिङ्गामा सोमवार एक कार्यक्रमको आयोजना गरी २० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक सम्मान कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर न्यानो कपडा (फाइबर) सिरक वितरण गरिएको बेनी नगरपालिकाले जनाएको छ । नगरका विभिन्न वडामा रहेका अति विपन्न र अपाङ्गता भएका ८० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई वडामै पुगेर जाडोका लागि न्यानो कपडा वितरण गरिएको हो ।
ज्येष्ठनागरिकलाई बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र सिङ्गाका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले न्यानो कपडा अर्थात् फाइबर सिरक वितरण गर्नुभएको थियो । फाइबर सिरक वितरण गर्दै उपप्रमुख बरुवालले नगरपालिकामार्फत सानो भए पनि सहयोग गर्ने उद्देश्यले ज्येष्ठनागरिकको सम्मानस्वरुप जाडोका लागि न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
सिङ्गाका वडाध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत सहायक महिला विकास निरीक्षकद्वय डमसरा पुन र तुलसी पाईजाले गर्नुभएको थियो । बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा बेनपाको ८ वटा वडामा प्रति वडा २० जनाका दरले अति विपन्न र अपाङ्गता भएका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअनुुसार कपडा वितरण गरेको जानकारी दिएको छ ।
बेनीको ७ र ८ नम्बर वडामा यसअघि ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ भने यसभन्दा अगाडि बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, पुलाचौर, घतान र पात्लेखेत वडाका ज्येष्ठ नागरिकहरुलाई जाडोका लागि न्यानो कपडा फाइबर सिरक वितरण गरिसकिएको छ ।
यसैबीच बेनी नगरपालिकाको आयोजनामा सिङ्गामै आज मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्धको तालिम पनि सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण लैङ्गिक हिंसा बढ्दै गैरहेको बताउनुभयो । उहाँले २१औं शताब्दीमा आएर पनि लिङ्गका हिसाबले हिंसा भैरहेको भन्दै यसलाई न्युनीकरण गर्न व्यक्ति, परिवार र समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) वीरेन्द्रराज गुरुङले मानव बेचबिखन र ओसारपोसार तथा लैङ्गिक हिंसासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।