७ वटै स्थानीय तहबाट प्रतिनिधि छनोटको काम सकिएसँगै पर्वत एमालेलाई चुनावले छोएको छ । एमाले पर्वतका कार्यवाहक अध्यक्ष भक्त कुँवरका अनुसार जिल्लामा ४१६ जना प्रतिनिधिहरू छनोट गरिएको छ। २० जना मनोनित हुन बाँकी छन् ।
यी प्रतिनिधिहरूले ९० सदस्यीय जिल्ला कार्यसमिति अन्तर्गत एकजना अध्यक्ष र उपाध्यक्ष, एक जना सचिव र दुई जना उप सचिव चयन गर्नको लागि मतदान गर्नेछन्। तर, अहिलेसम्मको अवस्थामा मतदानको बारेमा नसोचिएको सर्वसम्मतिबाट नै पदाधिकारी तथा सदस्यहरूको टुंगो लगाउने गरी कसरत भइरहेको एमालेका केन्द्रीय सदस्य तथा सांसद पदम गिरी बताउनुभयो ।
‘एकताको सन्देश दिने गरी पर्वतको अधिवेशन ऐतिहासिक रूपमा गर्न लागेका छौँ। हामीबीच कुनै पनि तीतोमैलो रहेको छैन,’ उनले भने, ‘यदि आकांक्षीबीचको कुरा नमिलेर चुनावी प्रक्रियामा नै जानुपरेको अवस्थामा पनि स्वस्थ सम्बन्धका साथ स्वस्थ प्रतिस्पर्धा हुनेछ।’एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईँले पनि चितवन महाधिवेशनको उदाहरण दिँदै एमालेमा कुनै गुट छैन एमाले गुटमात्रै भएको जिकिर गरिन् । एमाले जिल्ला अधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक जीवन विक्रम उचैका अनुसार जिल्ला अधिवेशनमा झन्डै २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। एमाले पर्वतले १० औं अधिवेशनको लोगो पनि बनाएको छ । लोगोमा पर्वतको पर्यटनलाई प्रवर्द्धन गर्ने गरी जिप लाइन र बन्जी जम्पको संकेत प्रयोग गरिएको छ ।