म्याग्दीमा मंसिर १७ देखि मतदाता नामावली संकलन कार्यक्रम सुरु हुने

म्याग्दी । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले यहि मंसिर १७ गते देखि जिल्लामा मतदाता नामावली संकलन बिशेष कार्यक्रम २०७८ संचालन गर्ने भएको छ । सो सम्वन्धि अन्तरक्रिया कार्यक्रम आइतबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला निर्बाचन अधिकारी भिम प्रसाद घिमिरेले बिगतमा नाम दर्ता गर्न छुट भएका तथा हाल मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका जिल्ला बासीहरुलाई लक्षित गर्दै मतदाता नामावली संकलन कार्यक्रम सुरु गर्न लागिएको बताउनुभयो ।

आगामी बर्षभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले र कानूनत निर्वाचनको मिति घोषणा भए पछि मतदाता नामावली संकलन र दर्ता कार्यलाई स्थगित गर्नुपर्ने अबस्थालाई मध्यनजर गर्दै सो अगावै स्थानीय तहको केन्द्र सम्म पुगी मतदाता नामावली संकलन कार्यक्रम संचालन गर्न लागिएको घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार यहि मंसिर १७ गते देखि जिल्लाको धौलागिरी, मालिका, र अन्नपूर्ण गाउँपालिकामा ३ वटा टोली खटाइने छ । त्यस्तै मंसिर २९ गते देखि रघुगंगा र मंगला गाउँपालिकामा टोली खटाइने छ । टोलीले एक पालिकामा १० दिनको समयावधिमा मतदाता नामावली संकलन कार्य सम्पन्न गर्ने पनि अधिकारी घिमिरेले जानकारी दिनुभयो । बेनी नगरपालिका क्षेत्रका लागि भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन गरिनेछ ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश तेज नारायण पौडेलले कुनैपनि निर्वाचनलाई विश्वसनीय बनाउने आधार मतादाता नामावली भएकाले नेपाली नागरिकता प्राप्त गरि १८ बर्ष उमेर पुगका तर मतदाता नामावलीमा नाम दर्ता नगरेका सवै म्याग्देलीहरुलाई यो कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । साथै निर्वाचनमा विश्वसनीयता र निष्पक्षता कर्मचारीमा हुने भएकाले यस कार्यमा कर्मचारीको भूमिका महत्वपुर्ण हुने पनि उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले नामावली संकलनमा आवश्यक ब्यबस्थापन सहितको सहयोग गरिदिन सम्पुर्ण पालिकाहरुलाई अनुरोध गर्नुभयो । कोभिडका कारण स्थगित भएको नामावली संकलन कार्य हाल जिल्ला प्रशासनबाट पनि सुचारु गरिएकाले त्यहाँबाट पनि दर्ता गर्ने सकिने उहाँले बताउनुभयो ।

कार्यक्रम ब्यबस्थापन अनुगमनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा र स्थानीय तहमा पालिका प्रमुखको संयोजकत्वमा समिति बनाइएको छ । कार्यक्रममा सहभागीहरुले पालिकाको केन्द्रबाट भन्दा वडा तहमा नै पुग्न सके मतदाता नामावली संकलन कार्यक्रम प्रभावकारी हुने सुझाव राखेका थिए । तर निर्वाचन कार्यालयले सुरक्षा, प्रबिधिको प्रयोग गर्न कठिनाई, जनशक्तिको अभाव लगाएतका कारण वडा स्तर सम्म पुग्न नसकिने बताएको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधि, नगर तथा गाउँपालिका प्रमुख, तथा उपप्रमुख, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरकारी कार्यालयका प्रमुख नागरिक समाज तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

भगवतीमा अर्जुन भण्डारीको अध्यक्षमा ८१ सदस्यीय तरुण दल गठन

एमाले अध्यक्ष ओली द्वारा जिसीलाई प्रशंसा पत्र प्रदान

Related posts