काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको टी–२० क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा बुधबार भएको दोस्रो टी–२० मा ६१ रनले विजयी भएको छ ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो ।
तेस्रो तथा अन्तिम खेल आज बिहीबार दिउँसो पौने चार बजे हुनेछ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
उसका लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेल्दा कविता कुँवरले ३१ र अप्सी बेगमले अविजित रहँदै २३ रन बनाए । बलिङतर्फ एन्जेलिन मारेले दुई विकेट लिइन् ।
१ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतारको महिला टीमले १९।३ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटियो ।
उसका लागि कप्तान आयसाले २४ तथा केरि पोनसेटले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका सरस्वती कुमारी एक्लैले चार विकेट लिँदा रुबिना क्षेत्रीले दुई विकेट लिइन् ।
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको सिरिज खेलिरहेको हो । एसिया छनोट आगामी सोमबारदेखि युएईमा हुँदैछ । जसका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जाँदैछ ।
पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।
एसिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ